काठमाण्डौ । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको छ। यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई राहत पुग्नेछ। 

२ वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ। विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पुर्याइने परियोजनाको लक्ष्य छ। 

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप २ हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ। 

परियोजनाको कार्यक्रमअनुरुप पर्यटन बोेर्ड, जीविकोपार्जन पुनरुउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एसोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) बीच बुधबार सम्झौता भएको छ। सम्झौताअनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढी पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ।  

सम्झौता हस्ताक्षर कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदुरको लागि छोटो अवधीको भएपनि रोजगारीको अवसर सिर्जना गर्नेे बताए। ‘कोभिडबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको अवस्था छ। यस क्षेत्रका  मजदुरले रोजगारी गुमाएका छन्। यसबाट मजदुरले केही दिनको भए पनि काम पाउँछन्’, उनले भने, ‘अर्कोतर्फ पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मतसम्भार तथा सरसफाइ हुनेछ। जसले गर्दा हाम्रा सम्पदाहरुलाई जीवन्त राख्न पनि सहयोग पुग्ने छ।’ 

रेग्मीले परियोजनाले क्रमशः अन्य क्षेत्रहरूसँग पनि सम्झौता गर्दै कार्यक्रम अघि बढाइने जानकारी दिए। उनले मजदुरहरुले काम गरेपछि सिधै आफ्नो खातामा रकम पाउने गरी पारदर्शी ढंगले कार्यक्रमको कार्यान्वयन हुनेसमेत बताए। 

यस्तै नाटाका अध्यक्ष अच्युत गुरागाईंले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस पयिरयोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहत प्रदान गर्ने उल्लेख गर्दै नाटाले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिने बताए। 

परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिए। पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ४० दिनबराबरको रोजगारी प्रदान गरिने उनले बताए। 

यसैगरी परियोजनाअन्तर्गत बोर्ड र नेपाल एशोसिएसन अफ राफिटङ एजेन्सिज (नारा) बीच मंगलबार राफ्टिङ क्षेत्रका २०० मजदुरलाई काम दिने सम्झौता भएको छ। सम्झौताअनुरुप नाराले कोभिड महामारीले रोजगारी गुमाएका करिब २०० मजदुरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिनेछ। 

सम्झौताअनुरुप नाराले आफ्नो मातहतका २०० जना मजदुरलाई त्रिशुली, भोटेकोशी, कर्णाली, सेती र कालिगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मत संहार तथा सरसफाइलगायतका काम  गरिने नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दिए।