काठमाण्डौ । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

यो समझदारीपछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। एफएनसीसीआईको सचिवालय काठमाण्डौमा बिहीबार भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र एफएनसीसीआईका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्। 

समझदारीपत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरुको अवधारणा विकास गर्ने र तीनको आदानप्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाको क्षमता विकास, सम्भावित पर्यटन उत्पादन (हिल स्टेसन, पार्कलगायत अन्य पर्यटकीय गतिविधि) मा सहकार्य हुनेछ। 

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताए। उनले एफएनसीसीआईले लिएको पहल सकारात्मक भएको भन्दै यसका लागि बोर्ड मिलेर काम गर्न सधैँ तयार रहेको धारणा राखे। ‘खासमा सीमा पर्यटन प्रवर्द्धनका लागि बोर्डका आफ्ना कार्यक्रमहरु पनि रहेका छन्’, उनले भने, ‘पर्यटनसँग सम्बन्धित अन्य कार्यक्रम आयोजना गर्ने सम्बन्धमा एफएनसीसीआईको प्रस्तावलाई पनि सँगै लैजान सकिन्छ।’ 

रेग्मीले नेपालको क्रसबर्डर पर्यटन प्रवर्द्धनका लागि बोर्ड नेपालगन्ज, धरान र धनगढीमा पर्यटन मेला तथा मार्टहरु सञ्चालन गरिसकेको बताए। उनले सीमा क्षेत्रका भारतीय पर्यटक ल्याउने गरी बोर्डले काम गरिरहेको जानकारी दिए। 

एफएनसीसीआईका अध्यक्ष गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरुत्थानका लागि पर्यटनसँग आबद्ध सबै संस्थाको सहभागितामा छिट्टै एउटा बृहत कार्यक्रम आयोजनाको प्रस्ताव गर्दै कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोहीअनुसार अगाडि बढ्नुुपर्नेमा जोड दिए। ‘पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारीसाधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको छ। यसका साथै नेपालले गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ पहल गर्नुपर्नेछ। यसमा मिलेर काम गर्दा राम्रो परिणाम आउँछ भन्ने विश्वास छ’, उनले भने। 

भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटन लक्षित विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक रहेको धारणा गोल्छाले राखे। उनले छिट्टै नेपाल–भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय सहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि सँगै लैजान सकिने बताए।