काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । 

शाखारहित बैंकिङ सेवाको शुभारम्भ शनिबार प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहबीच गरे। कार्यक्रममा अध्यक्ष जयसवालले पर्सा जिल्लाको पूरानो बजारको रुपमा रहेको देवारवानामा शाखारहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्दत पुग्ने बताए। 

कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साहका साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जनाभन्दा बढी सहभागिता थियो । शाखारहित बैंकिङ सेवामा निक्षेप संकलन, रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् । 

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।