काठमाण्डौ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ ।

पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिक रुपमा अवार्ड अस्वीकार गर्ने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

‘सर्वोत्कृष्ट फिल्म हुन जुन जुन महत्वपूर्ण विधा आवश्यक पर्छ त्यो नभएपछि नैतिकरुपले अवार्ड लिन नमिल्ने लागेर मैले अवार्ड लिइनँ । ३–४ पटक नाम अनाउन्स भयो । तर, म अवार्ड लिन गइनँ । म नगएपछि दीपकराज गिरीले त्यो अवार्ड दिइदिनुभयो’ खनालले भने, ‘अवार्ड होटलमै छाडेर आउन लागेको थिएँ तर आफ्नो देशको चिजको माया लागेर विदेशमा छोड्न मन लागेन । हिजो एरपोर्टमा आउनेवित्तकै नेफ्टाका महासचिवलाई म यो अवार्ड स्वीकार गर्न सक्दिन, अफिस बुझाउन पठाइदिन्छु भनेको थिएँ । राजीनमा दिइसक्नुभएछ ।’

यता, नेफ्टाका महासचिव सुरज आचार्यले पनि अवार्डको परिणाममा असन्तुष्टि जनाउँदै निर्वाचित भएको १ वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएका छन् ।