काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । यो बैंकले समीक्षा अवधिमा १ अर्ब ११ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा करिब ५८ प्रतिशतले बढेको हो । 

खूद नाफामा छलाङ मारेको रा.बा. बैंकले वितरणयोग्य मुनाफामा भने सामान्य मात्र वृद्धि गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७० करोड ९५ लाख रहेको यस्तो मुनाफा सामान्य बढी यो वर्ष ७२ करोड २३ लाखको उचाईमा पुगेको हो । 

बैंकले अघिल्लो वर्ष १ अर्ब १ करोडमा सीमित संंचालन मुनाफालाई बढाएर १ अर्ब ५८ करोडको उचाई चुमाएको छ । 

व्यवस्थापन व्यवसाय बिस्तारमा आक्रामक बन्दा खूद ब्याज आम्दानी १ अर्ब ७४ करोडबाट बढेर २ अर्ब ६० करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ६४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको भन्दा निक्षेपतर्फ १०.५३ प्रतिशत र कर्जातर्फ १३.१२ प्रतिशतको वृद्धि गरेको हो ।

यो बैंकले रिजर्ब कोषतर्फ भने कमालको बढोत्तरी गरेको छ । अघिल्लो वर्ष ५ अर्ब १९ करोडमा सीमित रिजर्बमा १२ अर्ब ५४ करोड सञ्चित भएको छ ।

अधिकांश सूचकमा फड्को मारेको यो बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष २.९२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ३.८३ प्रतिशतको अनुपातमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी(इपीएस)मा ५०.४४ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिमा ३३ रुपैयाँ ४ पैसामा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर यो वर्ष ४९ रुपैयाँ ७१ पैसा पुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३९.३७ रुपैयाँ कायम भएको छ ।