काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा १४.३२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

पहिलो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ५९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ५१ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंको विवरणयोग्य मुनाफा भने २७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष ७४ करोड १२ लाख रुपैयाँमा सीमित बैंकको सञ्चालन नाफा बढेर ८३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यसले बैंकको व्यवसाय विस्तार आक्रामक देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९७ करोड ८४ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकले ९५ अर्ब ९२ करोड निक्षेप संकलन गरी १३ अर्ब ७८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड निक्षेप संकलन गरी १३ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भतर्फ सामान्य बढोत्तरी गरेको छ । अघिल्लो वर्ष २ अर्ब २३ करोड रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जाको अनुपात ०.२४ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्ष ०.०८ प्रतिशतमा सीमित थियो । बैंकको प्रतिसेयर आम्दानी २६.४७ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३२.८५ रुपैयाँ रहेको छ ।