काठमाण्डौ । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । 

यो बैंकले खूद नाफा ४२.१६ प्रतिशतले बढाएको हो । बिहीबार बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३ लाख रुपैयाँ रहेको खूद नाफा यो वर्ष सोही अवधिमा बढी १५ करोड ६८ लाखको उचाईमा पुगेको हो । 

लक्ष्मी बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष २९ करोड २१ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी यसपटक ४३ करोड ९६ लाख पुगेको छ । 

यो बैंकको चुक्तापूँजी ३ अर्ब ३ करोड तथा जगेडा कोषमा ३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । 

यो बैंकले ५१ अर्ब ४९ करोड निक्षेप संकलन गरी ४४ अर्ब ६४ करोड कर्जा प्रवाह गरेकोछ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४१ अर्ब ३६ करोड निक्षेप संकलन गरी ३४ अर्ब ६ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको निस्क्रिय कर्जा दर भने बढेको छ । अघिल्लो वर्ष ०.८८ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर यो वर्ष १.६३ प्रतिशत पुगेको हो । 

लक्ष्मी बैंकको प्रति सेयर आम्दानी १७.८८ रुपैयाँ, प्रति सेयर नेटवर्थ २१०.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.०६ गुणा कायम भएको छ ।