काठमाण्डौ । विश्वका धनाढ्य एलन मस्कको कम्पनी स्पेसएक्सको रकेट झन्डै ५ वर्षको परिक्रमापछि अन्ततः पृथ्वीमा खसेको छ।

मस्कको रकेट पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै भग्नावशेषमा परिणत भएको छ। यो रकेटको भग्नावशेष ल्याटिन अमेरिकी देश मेक्सिकोमा खसेको थियो। यस क्रममा आकाशमा उल्कापिण्डको वर्षाजस्तो दृश्य देखिएको थियो। यो रकेटको साना टुक्रा मेक्सिकोको काबोमा खसेको छ।

मस्कको रकेट फाल्कन सन् २०१७ मार्च ९ मा प्रक्षेपण गरिएको थियो र यसमा इकोस्टार २३ मिसनलाई अन्तरिक्षमा पुर्याइएको थियो। उक्त वर्ष स्पेसएक्सले कुल १८ स्याटेलाइट प्रक्षेपण गरेको थियो। 

उक्त रकेटको माथिल्लो भाग शनिबार मेक्सिकोमा खसेको अनुमान गरिएको छ। यो रकेटको भिडियोमा पृथ्वीमा खस्नुअघि नै यसको माथिल्लो भाग वायुमण्डलमा ध्वस्त भएको देखिन्छ। 

रकेटको भग्नावशेष आकाशमा लामो रेलजस्तै देखिन्थ्यो। जसबाट भग्नावशेषलाई एक–एक गरी छुट्याइँदै थिए। यो दृश्य देखेर मानिसहरु छक्क परे। यद्यपि पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा रकेटको विभिन्न चरणहरु जल्नु सामान्य कुरा हो। 

पाँच वर्षअघि प्रक्षेपण गरिएको फाल्कन ९ रकेटको माथिल्लो भाग रहेको विज्ञहरुले पुष्टि गरेका छन्। यो रकेट काबोको आकाशमा करिब १ मिनेटसम्म जलेको देखिएको थियो।

मस्कको रकेटले जुन स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो, त्यसबाट ब्राजिलमा इन्टरनेट र दूरसञ्चार सेवा सञ्चालन हुने गर्छ। स्याटेलाइट अझै सञ्चालनमा छ र एक दशकसम्म सेवामा रहने अपेक्षा गरिएको छ। 

एलन मस्कले आफ्नो स्टारलिंक स्याटेलाइटबाट सम्पूर्ण स्पेस ब्रिजिङ गर्न थालेका छन्। मस्कको कम्पनीले हालसम्म २००० उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ। मस्कले कुल ४२ हजार उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएका छन्। यी स्याटेलाइटको सहयोगमा मस्कले विश्वभर इन्टरनेट सेवा सुरु गर्ने योजना बनाएका छन्। – एजेन्सी