काठमाण्डौ । यो बेला वार्षिक साधारणसभाको मौसम हो । आर्थिक वर्ष २०७३/७४ मा भएको प्रगति अनुसार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले घोषणा गरेका लाभांश पारित गर्न साधारणसभा बोलाउने लहर नै छ । कतिपय कम्पनीहरुले यही बेला संचालकको निर्वाचन गर्नुपर्नेछ भने कतिपयले मर्जर वा एक्वीजिसनका लागि संचालक समितिलाई सबै अधिकार प्रत्यायोजन गर्नुछ । 

यिनै विविध प्रस्तावहरु पारित गरी कम्पनीलाई गति दिन शनिवार समेत ५ वटा सूचिकृत कम्पनीहरुले वार्षिक साधारणसभा आह्वान गरेका छ । त्योसँगै उनीहरुले बुक क्लोजको मिति समेत तोकेका छन् ।  

राष्ट्रिय स्तरको कैलाश विकास बैंकले आगामी मंसिर १५ गते शुक्रबारको दिन चौबीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यो बैंकले काठमाण्डौको यूनाइटेड वल्र्ड ट्रेड सेन्टरमा साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले यसअघि संचालक समितिले गरेको निर्णय अनुसार हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले हुन आउने २२ करोड ९१ लख ४८ हजार ८ सय रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ । यस्तै, संचालकको बैठकभत्ता तथा अन्य सुविधाहरु पुनरावलोकन, प्रबन्धपत्र र नियमावलीको संसोधन लगायतका विशेष प्रस्ताव पनि पेश हुनेछन् । 

साधारणसभा प्रयोजनका लागि यो बैंकले मंसिर १ गतेदखि १५ गतेसम्म बुक क्लोजको मिति घोषणा गरेको छ । यसको अर्थ कात्तिक ३० गतेसम्म नेप्सेमा कारोबार भई मंसिर ८ गतेभित्र यो बैंकको सेयर रजिष्टार ग्लोबल आइएमई क्यापिटल लिमीटेडमा प्राप्त सेयर नामसारीको लिखको आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र साधारणसभा उपस्थित हुन, मतदान गर्न तथा सो सभाबाट पारित बोनस सेयर प्राप्त गर्न सक्ने बैंकले प्रष्ट्याएको छ । 

यसैगरी, नवलपरासीको गैंडाकोटमा मुख्य कार्यालय रहेको विजय लघुवित्त बित्तीय संस्थाले मंसिर १६ गते आफ्नो पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । चितवनको नारायणगढस्थित होटल रेड कार्पेटमा साधारणसभा बोलाइएको हो । 

साधारणसभामा संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ४ जनाका लागि निर्वाचन हुनेछ । यस्तै, संचालक समितिले सिफारिस गरे बमोजिम १५ प्रतिशत लाभांशमध्ये १० प्रतिशत बोनस सेयरको प्रस्ताव समेत पारित गर्नेछ । यस्तै, ५ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित गर्नेछ । यस्तै, विशेष प्रस्तावको रुपमा अन्य कुनै पनि बित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि आवश्यक अधिकार संचालक समितिलाई प्रदान गर्ने विषय पनि समेटिएको छ । यस्तै, पाँचौ साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्नेछ । यसको अर्थ कात्तिक ३० गतेसम्म यो कम्पनीको सेयर खरीद गरेकाहरुले साधारणसभामा सहभागी हुन, मतदान गर्न र घोषित लाभांश पाउनेछन् । 

यता, झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले मंसिर १७ गते आइतबारको दिन विर्तामोडस्थित होटल होलिडे होममा आफ्नो १२ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभामा संचालक समितिबाट सिफारिस भए बमोजिम चुक्तापूँजीको ३०.१२ प्रतिशतको दरले हुन आउने ११ करोड ५८ लाख ३० हजार २ सय २५ रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव पेश हुनेछ । बोनस सेयर बापतको कर प्रयोजनका लागि ६० लाख ९६हजार ३ सय २७ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव समेत साधारणसभाले पारित गर्नेछ । यो बैंकले समेत अन्य कुनै संस्थालाई आफूमा गाभ्न वा अरुसँग मर्जरमा जानका लागि आवश्यक सबै प्रक्रियाहरु संचालनको अधिकार संचालक समितिलाई दिने प्रस्ताव समेत विशेष रुपमा पारित गर्दैछ । 

यसैबीच, सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले समेत आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारणसभा मंसिर १६ गते गर्ने भएको छ । यो कम्पनीले काठमाण्डौको लैनचौर ब्याङ्वेटमा आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको हो । साधारणसभाले संचालक समिति गठनका लागि संस्थापक समूह(क)बाट ४ जना र सर्वसाधारण समूह(ख)बाट २ जना संचालकको निर्वाचन गर्नेछ । संचालक समितिका अध्यक्षले पेश गर्ने गत वर्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको गत वर्षको वार्षिक वित्तीय विवरण समेत स्वीकृत गर्नेछ । 

यो कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ कात्तिक ३० गतेसम्म यो कम्पनीको सेयर खरीद गर्नेहरुले साधारणसभामा सहभागी हुन तथा मतदान गर्न पाउनेछन् । 

यता, माछापुच्छे बैंक लिमीटेडले आगामी मंसिर १५ गते पोखराको होटल पोखरा ग्राण्डमा आफ्नो १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट ६ प्रतिशतको दरले नगद लाभांश र ९ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव पेश हुनेछ । यी दुवै प्रस्ताव पारित भए बैंकले ४४ करोड ३४ लाख रुपैयाँ भन्दा बढी रकम नगद लाभांशको रुपमा वितरण गर्नेछ भने ६६ करोड ५१ लख ४९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नुपर्नेछ । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ मा आर्थिक सहायता प्रदान गर्न तोकेको सीमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्च ११ लाख ६९ हजार ४ सय ३७ रुपैयाँलाई अनुुमोदन गर्ने प्रस्ताव समेत पेश हुँदैछ ।