काठमाण्डौ । प्यानमा(पनामा) पेपरबाट लिक भएको सूचनासँगै देशभित्रै कडा आलोचनाको शिकार भइरहेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई अनलाइन सपिङ वेबसाइट ‘इबे’ले बिक्रीका लागि राखेको छ । यो खबर सार्वजनिक भएसँगै यसको सामाजिक सञ्जालमा निकै धेरै चर्चा भइरहेको छ । 

इबे वेबसाइटमा यसप्रकारले नेता नै बिक्रीमा राखिएको र बोलकबोल गर्न आग्रह गरिएको यो नै पहिलो घटना भने होइन । यसभन्दाअघि ब्रिटिस प्रधानमन्त्री डेबिड क्यामरुन, मिस्रका राष्ट्रपति अब्दूल फतेह अल सीसीलाई समेत अनलाइनले बिक्रीमा राखेको थियो । 

६६ लाखमा बिक्री हुँदै नवाज
अनलाइन सपिङ इबेका एक प्रयोगकर्ताले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई बिक्री गर्न भन्दै बोल–कबोलको सूचना पोष्ट गरेका थिए । यो विज्ञापनको क्याप्सन ‘यूजलेस पाकिस्तानी पिएम नवाज सरिफ फर सेल(अर्थात काम नलाग्ने पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ बिक्रीमा)’ भन्ने राखिएको छ । यो विज्ञापनमा पाकिस्तानी प्रधानमन्त्रीको बिक्री दर भने ६६ लाख रुपैयाँ तोकिएको छ । प्रडक्ट परिचय शीर्षकमा ‘कामविहीन पाकिस्तानी प्रधानमन्त्री बिक्रीका लागि तयार, पाकिस्तानलाई यिनको कुनै आवश्यक छैन’ भनेर लेखिएको छ । सो विज्ञापनमा अगाडि भनिएको छ–‘कुनै कमेन्ट र निर्देशनको पालना गरिने छैन । खरीददार यी व्यक्तिलाई अवश्य लिएर आफ्नो देश जानुहोला । बिक्रेता यस्ता कामविहीन चिजलाई छुन समेत इच्छुक छैन । आजै यिनलाई सेन्ट्रल लण्डनबाट उठाउनुहोस् र बिक्री पूरा भएपछि बाँकी ठेगानाको विषयमा खुलाइनेछ । यो वस्तुलाई लिनका लागि खरीदकर्ताले ढुवानीको आफै व्यवस्था गर्नुपर्नेछ ।’ 

रमाइलो कुरा त यो छ कि सरिफलाई खरीद गर्न भन्दै बेवसाइटमै १२ जना खरीदकर्ता समेत खुलेरै आएका छन् । अहिलेसम्म १२ व्यक्तिबाट १ सयपटकसम्म बोल–कबोल भइसकेको र यो प्रक्रिया अझै ६ दिनसम्म रहने बताइएको छ । 

‘भारतमा डेलिभरी गर्न नसकिने’ सो विज्ञापनमा उल्लेख गरिएको छ, यसको समेत सामाजिक सञ्जालमा खूबै चर्चा भइरहेको छ । 

विज्ञापनमा अरु के भनिएको छ ?
विज्ञापनमा स्पष्ट रुपमा ‘यो प्रडक्ट र उसका सबै परिवार पूर्ण रुपमा  भ्रष्ट छन् । यो उत्पादन काम गर्ने अवस्थामा छैन । यसले कहिल्यै काम नै गर्न सक्दैन ।’ भनिएको छ । अफरको रुपमा नवाजलाई खरीद गर्नेले उनका छोरा शहवाज सरिफलाई सित्तैमा पाउने भनिएको छ । विज्ञापनमा भनिएको छ–‘ यो आइटम नाटक गर्न र मीठा भाषण गर्न पनि निकै माहिर छ, तर यसको कुनै प्रयोग नै छैन, उपयोगविहीन ।’ 

विज्ञापनमा भनिएको छ कि यो आइटम पाकिस्तान भन्दा बढी इंगल्याण्ड, अमेरिका लगायतका देशमा पाइनेछ । सबै सम्पत्ति, परिवार र व्यवसाय लण्डनमा रहेको, तर बिक्रीमा राखिएको यो प्रडक्ट आफू चाहि सधैं पाकिस्तानको प्रधानमन्त्री बन्न चाहिरहने भनेर व्यंग्य कसिएको छ । 
 

डेबिड क्यामरुन पनि बिक्रीमा
नवाज सरिफ जस्तै ब्रिटिस प्रधानमन्त्री डेबिड  क्यामरुनलाई पनि इबेमा बिक्रीका लागि राखिएको छ । डेबिड क्यामरुन बिक्रीमा राखिएको विज्ञापनमा पनि ‘प्रयोगविहीन’ भनिएको छ । यो विज्ञापन १२ अप्रिलमा इबेको भित्तामा देखिएको थियो । विज्ञापनमा क्यामरुन ब्रिटिसका लागि कुनै आवश्यक नरहेको बताइएको छ । विज्ञापनमा भनिएको छ–‘यदि तपाई यो प्रयोगविहीन उत्पादन खरीद गर्न चाहनुहुन्छ भने होम डेलिभरीको कुनै व्यवस्था छैन, तपाई आफै लण्डन गएर खरीद गरी ल्याउनुपर्नेछ ।’ 

क्यामरुनको बिक्री दर करिब ६६ लाख ५५ हजार रुपैयाँ राखिएको छ । क्यामरुनलाई खरीद गर्ने भनेर करिब १ सय ५५ जनाले हालसम्म बोलिसकेका छन् । वेबसाइटमा क्यामरुनलाई खरीद गर्न सुरु भएको बोलकबोल प्रक्रिया १७ अप्रिलसम्म रहने र सो अवधिसम्म बोलकबोल प्रक्रियामा जोसुकैले भाग लिनसक्ने बताइएको छ । 

मिस्रका राष्ट्रपति पनि बिक्रीमा
मिस्रका राष्टपति अब्दुल फतेह अल सीसीलाई समेत इबेमा यो वर्ष फेब्रुअरी महिनामै बिक्रीका लागि राखिएको थियो । उनको एक भनाईलाई लिएर उनलाई इबेको वालमा बिक्रीका लागि राखिएको थियो । इबेमा आफू बिक्रीमा राखिइएको थाहा पाएपछि सीसीले आफू देशका लागि आफै बेचिन समेत तयार रहेको बताएपछि उनलाई व्यंग्य गर्ने र इबेमार्फत मजाक उडाउनेहरु केही मत्थर भएका थिए । इबेमा सीसीको बिक्रीदर ७२ लाख रुपैयाँ राखिएको थियो । १ सय भन्दा बढी व्यक्तिले उनलाई खरीद गर्नका लागि टेण्डर भरेका थिए । सीसीलाई समेत ‘कामविहीन, बेकारको चिज’ भन्दै विज्ञापनको डिस्क्रिप्सनमा भनिएको थियो ।