काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । 

अस्पतालको आइसीयूमा राखेर उपचार गरिरहेका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनी चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । 

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले ती युवकको मृत्यु भएको पुष्टि गर्दै मृत्युको कारण पत्ता लागिनसकेको बताए । 

ती युवकलाई कोरोना संक्रमणको आशंका गरेर अस्पतालले स्वाब परीक्षणका लागि टेकूस्थित केन्द्रीय प्रयोगशालामा पठाएको छ । रिपोर्ट भने आइसकेको छैन । 

अत्यधिक ज्वरो आएका ती युवकलाई नेपाल आएको भोलिपल्टै अस्पताल भर्ना गरिएको थियो । 

ती युवा बाहेक पाटन अस्पतालमा कोरोना आशंका गरिएका अन्य ३ बिरामीको समेत आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।