काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले दोश्रो चरणमा विघटित प्रतिनिधिसभाका १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

सोमबार सम्पन्न बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ निवर्तमान सांसदले स्पष्टीकरण नदिएको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निश्कासन गरेको थियो । सोही बैठकले नेपाल प्यानलका थप १२ निवर्तमान सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

दोश्रो चरणमा स्पष्टीकरण सोधिएका नेताहरुको सूचीमा योगेश भट्टराई र गोकर्ण बिष्टको नाम छैन । तर, सुरेन्द्र पाण्डे लगायतका नेताहरुलाई भने स्पष्टीकरण सोधिएको छ । 

पाण्डेसहित स्पष्टीकरण सोधिएका अन्य नेताहरुमा विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भूसाल, कृष्णलाल महर्जन, झपट रावल, यज्ञ सुनुवार, मेटमणि चौधरी, नारायण खतिवडा, दीपप्रकाश भट्ट र भवानीप्रसाद खापुङ रहेका छन् । 

पार्टी निश्कासनमा परेका ११ नेता र स्पष्टीकरण सोधिएका थप १२ नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका थिए । उनीहरुले देउवालाई प्रधानमन्त्री कायम गर्नुपर्नेमा माग गर्दै सोमबार सर्वोच्च अदालतमा परेको रिट निवेदनमा समेत सशरीर उपस्थित भएर हस्ताक्षर गरेका छन् । एमालेले यो कार्यलाई पार्टी अनुशासनविपरीतको काम भनेको छ ।