काठमाण्डौ । प्रचण्ड-नेपाल पक्षको जोडबलमा हुन लागेको पार्टी सचिवालय बैठक छल्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद बैठक आह्वान गरेका छन् । 

गत शुक्रबार प्रचण्ड–नेपाल पक्ष र ओली पक्षबीचकै सहमतिअनुसार सचिवालय बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो । 

अघिल्लो बैठकमा प्रचण्डले केपी ओलीको कार्यशैलीविरुद्ध १९ बुँदे राजनीतिक प्रतिवेदन पेश गरेपछि सत्तारुढ नेकपाको विवादले नयाँ मोड लिएको छ । ओली पक्ष आफूलाई खुइल्याउने उद्देश्यले ल्याइएको दस्तावेज फिर्ता हुनुपर्ने शर्त राखेर सचिवालय बैठक टार्ने कसरतमा निरन्तर लागिरहेको थियो । तर, प्रचण्ड–नेपाल पक्ष ओली पक्षको कैयन प्रयासका बाबजुद राजनीतिक प्रतिवेदन फिर्ता लिने पक्षमा नआएपछि आज बोलाइएको सचिवालय बैठक बस्ने समयमै ओलीले मन्त्रीपरिषद बैठक डाकेका हुन् । 

प्रचण्ड नेपाल पक्ष पनि ओली नआए पनि सचिवालय बैठक बालुवाटारमै राख्ने पक्षमा छ । यो समूहको पक्षमा ९ सदस्यीय सचिवालयमा ५ सदस्य रहेका छन् । बहुमत सदस्य बैठकको पक्षमा रहेका कारण सचिवालय नरोकिने प्रचण्ड–नेपाल समूहका नेताहरुले दाबी गरिरहेका छन् । 

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई शितल निवास बोलाएर छलफल गरेपछि विवाद केही साम्य हुने झिनो आशा गरिएको छ । शितल निवासले प्रचण्ड र ओलीबीच उच्चस्तरको नयाँ सहमति बन्ने र अहिले चिसिएको सम्बन्धमा सुधार आउने दाबी गरे पनि त्यसको भरपर्दो आधार वा संकेत भने हालसम्म सार्वजनिक भइसकेको छैन । 

यसअघि मन्त्रीपरिषद बैठक प्रत्येक साताको प्रायः सोमबार र बिहीबार मात्र बस्थ्यो । यो पटक पनि बुधबार नै बैठक राखिनू र त्यो पनि सचिवालय बैठक तय गरिएको समयमै डाकिनुले ओलीले सचिवालय बैठक छल्न यस्तो काम गरेका भन्दै प्रचण्ड–नेपाल समूह थप रुष्ट बनेको छ । यो समूहमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् । उनीहरु प्रचण्डले अघिल्लो सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना गर्दै पेश गरेको राजनीतिक प्रतिवेदन आफूहरुको ‘सामूहिक प्रतिवेदन’ भएको उल्लेख गर्दै त्यो विषयमा सचिवालय बैठकमै छलफल गरिनुपर्ने अडानमा छन् । ‘अघिल्लो सचिवालय बैठकमा सो प्रतिवेदनको विषयमा सचिवालय बैठकमै छलफल गर्ने सहमति थियो ।’ नेताहरुले भनेका छन्–‘तर सचिवालयमा एउटा निर्णय हुने, तर कार्यान्वयन नगर्ने ओलीको कार्यशैली ठीक भएन । यस्तो कार्यशैली नसच्चिएसम्म उनीसँग कुनै सहमति हुँदैन ।’