– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालमा हाल ३९ वटामा बीमा कम्पनीहरु सञ्चालनमा छन्। तीमध्ये २० वटा निर्जीवन बीमा र १९ वटा जीवन बीमा कम्पनी छन्।

बीमा कम्पनीमध्ये हाल जीवन बीमाको २ अर्ब रुपैयाँ र पुनर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने प्रावधान छ। निर्जीवन बीमा कम्पनीमध्ये एक राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी भने २६ करोड रुपैयाँमात्र रहेको छ। 

यो कम्पनीमा नेपाल सरकार, सञ्चय कोष तथा नेपाल बैंकको गरी ८१ प्रतिशत तथा सर्वसाधारणको १९ प्रतिशतबराबर सेयर स्वामित्व रहेको छ। तर अन्य निर्जीवन बीमा कम्पनी तुलनामा यो कम्पनीको चुक्तापुँजी निकै कम देखिन्छ। 

सोही कारण राष्ट्रिय बीमा कम्पनीले पुँजी वृद्धिको योजना बनाइरहेको छ। चालु आर्थिक वर्षभित्रै एकैपटक गरिने विगत १० वर्षको वार्षिक साधारणसभामा पुँजी वृद्धिको अजेन्डा लैजाने तयारी भइरहेको कम्पनीका एक अधिकारीले जानकारी दिए।

यो कम्पनीले विगत एक दशकदेखि वार्षिक साधारणसभा हुन सकेको छैन। बेलैमा वार्षिक साधारणसभा र वार्षिक प्रतिवेदनहरु नबुझाएकै कारण केही महिनापहिला धितोपत्र दोस्रो बजारमा यो कम्पनीको सेयर कारोबार पनि लामो समयका लागि रोक्का गरिएको थियो।  

आर्थिक वर्ष २०६८/६९ सालदेखि हालसम्म यो कम्पनी वार्षिक साधारणसभा हुन सकेको छैन। सबै वर्षको अडिट रिपोर्ट तयार गरेर वार्षिक साधारणसभा गर्ने योजना भइरहेको ती अधिकारीले जानकारी दिए। ‘हाल २०६८/६९ देखि २०७०/७१ सम्मको अडिट रिपोर्ट बीमा समितिबाट स्वीकृति भइसकेका छन्’, ती अधिकारीले भने, ‘२०७१/७२ र २०७२/७३ स्वीकृतिको क्रममा छ भने २०७३/७४ को प्राम्भिक रिपोर्ट तयार हुँदैछ।’

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को रिपोर्ट एनएफआरएसअन्तर्गत बनाउनुपर्ने भएकाले केही समय लाग्न सक्ने स्रोतले बतायो। ‘हाल पछिल्लो प्रतिवेदनको एक्चुअरी भ्याल्युएसन गर्नुपर्ने र यसका लागि भारतबाट गर्नुपर्ने भएकोले समय लागेको हो’, स्रोतले भन्यो।

हाल कम्पनीले लेखापरीक्षणका लागि महालेखा परीक्षणबाट बाह्य लेखापरीक्षण पुससम्म सक्ने गरी काम गरिरहेको छ। वित्तीय विवरण स्वीकृत भएका आर्थिक वर्षको एजीएम गर्नलाई कुनै समस्या नभए पनि सबै एकैपल्ट गर्ने गरी योजना कम्पनीको छ। 

चालु आर्थिक वर्षभित्रै गरिने एजीएममा लगिने पुँजी वृद्धिका अजेन्डाहरुका विषयमा सबै आर्थिक वर्षको लेखापरीक्षण रिपोर्ट आएपछि मात्र तय हुने ती अधिकारीले बताए। हाल कम्पनीको थोरै पुँजी भएकोले बोनस र हकप्रदबाटै पुँजी वृद्धि गर्नुको विकल्प नरहेको स्रोत बताउँछ।