काठमाण्डौ । वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर स्थिर राख्ने भएका छन्। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को सोमबार बसेको बैठकमा बैंकरहरुले मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेका हुन्। ‘पुसमा पनि बैंकको निक्षेप र कर्जाको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति बनेको छ’, एनबीएका उपाध्यक्ष एवं एनएमबि बैंकका सीईओ सुनील केसीले बिजशालासँग भने। 

यसअघि मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा लिने लक्ष्यअनुसार पुसमा ब्याजदर फेरबदल हुन सक्ने बैंकरहरुले बताएका थिए। तर, हिजो बसेको एनबीएको बैठकमा भने बैंकहरुबीच पुसमा ब्याजदर फेरबल नगर्ने सहमति भएको हो। यो सहमतिसँगै अब पुसमा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गर्नेछन्। 

यसअघि गत असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए। असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए। केही बैंकहरुले भने रेमिट्यान्समा १५ प्रतिशतसम्म ब्याजदर दिएका थिए।

ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र लागतमात्रै बढेकोले बैंकहरुले कात्तिक महिनामा भने ब्याजदर स्थिर राख्ने निर्णय गरेका थिए। सोही ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिँदै अब पुसमा सोही ब्याजदरलाई कायम राख्ने निर्णयमा बैंकरहरु पुगेका हुन्। 

मंसिरमा विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका थिए।