काठमाण्डौ । एकीकृत कारोबार सुरु भएसँगै एनसीसी बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको छ। 

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ मा भएको व्यवस्थाबमोजिम पुस १७ गतेबाट सेयर कारोबार रोक्का गरिदिन एनसीसी बैंकले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई आग्रह गरेको छ। कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रक्रिया टुंगिएर पुस १७ बाट एकीकृत कारोबार सुरु हुनेछ। यो निर्देशिकामा एकीकृत व्यवसायिक कारोबार गरेको मितिबाट गाभ्ने, गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ। 

सोही प्रक्रिया पूरा गर्न एनसीसी बैंकले नेप्सेलाई १५ दिन कारोबार रोक्का गरिदिन आग्रह गरेको हो। यो अवधिपछि एनसीसी बैंकको सेयर कुमारी बैंकको नाममा कारोबार गर्न मिल्नेछ। 

यो अवधिमा कुमारी बैंकको भने सेयर कारोबार भने खुला नै रहनेछ।