काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको मस्यौदा तयार गर्न थालेको छ । यो क्रममा बोर्डले सरोकारवाला सबैलाई नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव मागेको छ । 

बोर्डले मंगलबार एक सूचना प्रकाशन गर्दै धितोपत्र तथा वस्तु विनिमय बजारको विकास तथा विस्तारको लागि बोर्डको नियमन तथा सुपरीवेक्षण क्षमता वृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र आधुनिक बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आवश्यक सुझाव मागेको हो । 

बोर्डले बजारसँग सम्बन्धित नीति तथा कार्यक्रम तयार पार्दा हरेक वर्ष सरोकारवालाहरुको समेत सुझाव लिइने गरिएको भन्दै यसपटक समेत सुझावहरु पठाउन आह्वान गरेको हो । 

धितोपत्र तथा वस्तु विनिमय बजारको विकास, बिस्तार र सुधारका लागि आफ्नो सल्लाह र सुझाव असार २० गतेसम्म बोर्डमा इमेल ठेगानामा पठाइदिन आग्रह गरिएको छ । 

बोर्डले केही वर्षअघिसम्म वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैन थियो । तर, पछिल्ला केही वर्षदेखि भने नेपाल राष्ट्रबैंकले झै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।