काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला निजी अस्पतालहरुले देखाएको रबैयाप्रति पूर्वराज ज्ञानेन्द्र शाहले आपत्ति जनाएका छन् । 

बिहीबार एक ट्वीटमार्फत उनले निजी क्षेत्रका अस्पतालहरुको रबैयाको विरोध गरेका हुन् । 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको अभियानमा निजी क्षेत्रबाट संचालित ठूला अस्पतालहरुले सरकारलाई सहयोग नगरेका र हदैसम्मको उदासीनता देखाएका भन्दै पछिल्लो समय चर्को आलोचना भइरहेको छ । यहीबीचमा पूर्वराजाको ट्वीट आएको हो । 

पूर्व राजा शाहले ट्वीट गर्दै लेखेका छन्–‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।’

निजी क्षेत्रबाट संचालित काठमाण्डौका ठूला अस्पतालमध्ये अधिकांशले कोरोना रोकथामको प्रयासमा सिन्कासम्म भाँचेका छैनन्।

उद्योगपति बसन्त चौधरीले नर्भिक इन्टरनेशनल अस्पताल र आफ्नो नाममा स्थापित फाउण्डेसनको तर्फबाट सरकारबाट स्थापित कोरोना कोषमा १ करोड सहयोग गर्ने घोषणा गरे पनि अन्य अस्पताल संचालकहरुले मौनता साँधेका छन् । चौधरीले ५० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण र ५० लाख रुपैयाँ रकम दिने घोषणा गरेका थिए । 

नर्भिक बाहेक काठमाण्डौमै रहेका मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल जस्ता नाम चलेका र महंगा अस्पतालहरुले सरकारको अभियानमा सहयोग गर्ने कुनै पनि औपचारिक जानकारी बिहीबारसम्म गराएका छैनन् ।