काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसीएचएच) बीच सम्झौता सम्पन्न भएको छ । 

नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाईडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा र नेपाल स्थित भारतीय राजदुतावासका इसीएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले आज मंगलबार एक समारोहका बीच दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरे । 

अब नेपालमा बसोबास गर्ने पूर्व भारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसीएचएस कार्यक्रम अन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । नेपाल स्थित भारतीय राजदुतावास अन्तर्गत रहेको इसीएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउने छन् । 

कार्यक्रममा अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसीएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति रहेको थियो ।