काठमाण्डौ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले एक सातामै दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा २/२ रुपैयाँले बढाएको जनाएको छ। यो मूल्यवृद्धिसँगै काठमाण्डौ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टीतेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको छ। 

यसअघि निगमले गत माघ २८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो। 

निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यका आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यका आधारमा मंगलबार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु परेको निगमको दाबी छ।