काठमाण्डौ । अब कार चलाउन पेट्रोल–डिजेलको भर पर्नुपर्ने छैन। चार्जिङ स्टेसनमा चार्ज गर्नुपर्ने झन्झट पनि हुने छैन। किनकि अब यस्तो विद्युतीय कार बजारमा आएको छ, जसको ब्याट्री सौर्य ऊर्जाबाट गुडिरहेकै बेला चार्ज हुनेछ। 

जर्मन अटोमेकर कम्पनी सोनो मोटर्सले हालै यो कार सार्वजनिक गरेको हो। जर्मन स्टार्टअप सोनो मोटर्सले इलेक्ट्रिक कारको सेग्मेन्टमा द सिअन नामक अन्तिम सिरिज उत्पादन संस्करण ल्याएको छ। 

यो सौर्य उर्जाबाट चल्ने विद्युतीय कारको उत्पादन सन् २०२३ मा सुरु गर्ने तयारी भइरहेको छ। यो कार बजारमा आएपछि विद्युतीय कार चार्ज गर्ने झन्झटबाट मुक्ति मिल्नेछ।

सिअनको उत्पादन संस्करणको अनावरण गर्दै सोनो मोटर्सले आगामी ७ वर्षका लागि कारको उत्पादन लक्ष्य पनि खुलाएको छ। यसअन्तर्गत कम्पनीले यो अवधिमा २.५ लाख युनिट उत्पादन गर्ने तयारी गरेको छ। यो इलेक्ट्रिक कार उत्कृष्ट लुक र डिजाइनका साथै आरामदायी यात्राको अनुभूति दिनेछ।

सोनो मोटर्सको दाबी छ कि द सिअनमा रहेको ब्याट्रीले एकपटक पूर्ण चार्ज गरेपछि करिब ३०० किलोमिटरको रेन्ज दिन सक्छ। यो पाँच ढोकाको इलेक्ट्रिक कार हो। जसमा ४५६ सोलार प्यानल जडान गरिएको छ। तिनीहरुको सहयोगमा कारले एक हप्तामा लगभग ११२ किलोमिटरको दूरी पार गर्न सक्छ।

द सिअनलाई लिएर खरिदकर्तामा निकै उत्साह छ। यो कारका लागि हालसम्म १९ हजारभन्दा बढी प्रि–बुकिङ भइसकेको तथ्यबाट अनुमान लगाउन सकिन्छ। 

यस सम्बन्धमा मिडिया रिपोर्टका अनुसार कम्पनीले यो कारको मूल्यबारे छलफल गरिरहेको छ। यसको लागत २५ हजार डलर हुनसक्ने अनुमान गरिएको छ। –एजेन्सी