काठमाण्डौ । नेपाल आयल निगमले यो महिनामै दोस्रोपटक पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढाएको छ।

गत माघ ६ गतेमात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले माघ २८ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी पुनः वृद्धि गरेको हो। निगमले हवाई इन्धनबाहके पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यसअघि माघ ६ गते पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो। 

मूल्यवृद्धिसँगै काठमाण्डौमा पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।
भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले स्वचालित मूल्य समायोजनको नाममा एकैमहिनाभित्र पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो। मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ५.१६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ। 

यसैगरी निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १ हजार ४०० रुपैयाँ रुपैयाँ पुर्याएको छ। यसअघि २०७६ माघ २० मा प्रतिसिलिन्डर १३७५ रुपैयाँ खुद्रा मूल्य कायम गरिएको थियो। ग्यासमा प्रतिसिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।