- भक्तराज रसाइली

काठमाण्डौ । विश्वमै सेयरबजारको अनौठो विशेषता छ । सेयरबजारलाई ब्ल्याकहोलका रुपमा पनि लिइन्छ । जहाँ पसेपछि हत्तपत्त कुनै पनि चिज फर्केर आउँदैन । यही नियम नै लागू हुन्छ, सेयरबजारमा ।

राजनीति र व्यापारमा भाग्य कोरिरहेका एक युवालाई सेयरबजारको महासमूद्रसम्म डोहोर्यायो । चितवन रत्ननगर–१५ माधवपुर घर भई हाल काठमाण्डौको पेप्सीकोलामा बस्दै आएका नेपाली सेयरबजार वृत्तमा परिचित लगानीकर्ता हुन, हरि ढकाल ।

अग्लो कद, लामो कपाल अनि दाह्रीमा ठाँटिएर हिँड्ने ढकालको हक्की र विद्रोही व्यवहारकै कारणसमेत कहिलेकाहीँ विवादमा तानिन्छन् । अनेरास्ववियु चितवनका पूर्वसचिव एवं क्यान्सर फ्री सोसाइटीका सचिवसमेत रहेका ढकाल विभिन्न सामाजिक संघसंगठनका नेतृत्व सम्हालिसकेका छन् ।

लगानीकर्ता दबाब समूहका अध्यक्ष रहेका ढकाल गत वर्ष पूँजीबजारको विकास तथा विस्तारका लागि बसेका अनसनकारी भनेर चिनिन्छन् । सोही अनसनले वर्तमान सरकारलाई नै घुँडा टेकाउन ढकालले बाध्य तुलाए ।

ढकाल १८ वर्षकै उमेर छँदा व्यापारमा होमिएका थिए । राजधानी काठमाण्डौमै एक चक्लेटको सबडिलर लिएका उनले चितवनमा ७–८ वर्षसम्म कपडाको होलसेल व्यापार पनि गरे । ठमेलमा क्याफे सञ्चालन र गार्मेन्ट व्यवसायको पनि अनुभवी ढकाल अध्यात्म र राजनीतिलाई जोड्दै एउटा किताब छिट्टै प्रकाशन गर्ने तयारीमा छन् ।

नेपाली सेयरबजारमा ढकालको प्रवेश अलिक अनौठो नै छ । भृकुटीमण्डपमा दर्शन र अध्यात्मका पुस्तक किनिरहेका बेला रवीन्द्र भट्टराईद्वारा लेखिएको “सेयरबाट करोडपति“ नामक पुस्तकमा उनको आँखा पुग्छ । त्यतिबेला कामकै सिलसिलामा बंगलादेश जान लागेका उनले उतै पढ्ने निधो गरी भट्टराईको किताब किने । किताब पढेपछि उनमा पनि महत्वाकांक्षा जन्म्यो अनि अब सेयरबाट करोडपति बन्ने सपना बुनेर उनी पुनः नेपाल फर्के ।

बंगलादेशबाट फर्किनेबित्तिकै ढकालले रवीन्द्र भट्टराईसँग सेयरसम्बन्धी एकहप्ते तालिमसमेत लिए । ‘पैसा कमाउने सजिलो तरिका सेयरबजार नै रहेछजस्तो लाग्यो, अनि मैले ब्रोकर कार्यालय गएर डिम्याट खाता र कारोबार खाता खोलेर सेयर बजारमा पाइला टेकेँ’, ढकाल भन्छन् ।

सेयरबाटै करोडपति बन्ने ध्यान र सपनाका साथ ढकालले एकैपटक दोस्रो बजारमा कदम राखे । दोस्रो बजारमा उनले सुरुमा किनेको सेयर प्राइम लाइफ थियो । ५० कित्ता सेयर उनले प्रतिकित्ता करिब १४ सयमा खरिद गरे ।

सुरुआतमा सिक्नकै लागि भनेर ढकालले आफ्नो स्वविवेकमा एनएचपीसी र नेको इन्स्योरेन्सका सेयर उठाए, यी सेयरमा अढाइ लाख रुपैयाँजति लगानी ओइराए ।

सेयर किनेर ढकाल पुनः बंगलादेश हानिए । एक महिनापछि फर्केर आउँदा प्रत्येक सेयरमा प्रतिकित्ता करिब २ सय रुपैयाँ नाफा भइसकेको रहेछ । नाफा देखेर  हौसिएका ढकाल मितेरी, मुक्तिनाथ विकास बैंकका साथै सानिमा र लक्ष्मी बैंकका सेयरमा उनले थप ३ लाख रुपैयाँजति नै लगानी बढाउँदै गए । यो कुरो थियो २०७१ सालतिरको हो । त्यति बजार बुलिस ट्रेन्डतर्फ लम्केको थियो।

बुलिस ट्रेन्ड देखेर लोभिएका ढकालले अब भने बजार नियमित जान थाले र साथीसर्कल पनि बनाउने क्रम बढ्दै गयो । लगानी पनि थप्दै गए ।

२०७२ साउनमा बजार १८८१ पुग्दा ढकाललाई २ हजार नेप्से पुग्ला भन्ने भान भएछ । त्यतिबेलासम्म उनले ३० लाख रुपैयाँ लगानी गरिसकेका थिए तर बजार बढ्ला भन्ने आशैआशमा उनले सेयर बेच्न चूके ।

बजारले उल्टो गति समात्दै गयो । ‘त्यतिबेला मैले बजार राम्ररी बुझेको रहेनछु’, उनले भने, ‘अनि सेयर बजारबारे थप अध्ययन र खोज गर्न थालेँ ।’

नोक्सान बेहोर्दै जाँदा चेत खुलेको ढकालको भनाइ छ । ‘तर नोक्सानले अध्ययनमा आकर्षित गर्यो’, उनी भन्छन्, ‘म नै जान्ने भन्ने भावनाले समेत घाटा खाइँदोरहेछ ।’

बजार घट्दै जाँदा लगानी पनि बढाउँदै जानुपर्ने भन्ने शिक्षाकै प्रभावले ढकालले नेप्से १६ सय हुँदा पैतृक सम्पत्ति बेची सेयरबजारमा ल्याए । बजार १५ सय इन्डेक्स झर्यो अनि उनले पुनः पैतृक सम्पत्ति बेचेर सेयरबजारमै ओइराउँदै गए । बजार घट्ने क्रम रहँदै थियो । बजार १४ सय आयो फेरि जग्गा बेचेर लगानी बढाए ।

नेप्से इन्डेक्स १४ सय सेरोफेरोमा चुनावी सरगर्मी थियो । हालका प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट सरकार सेयर बजारप्रति सकारात्मक छ र लगानी गर्न हुने भाषण सुनेपछि ढकालले मार्जिन ऋण लिएर सेयरबजारमा लगानी बढाउने क्रम चलिरहेकै थियो । कम्युनिस्ट सरकारको बहुमतपछि सेयरबजार बढ्ने सपनामा उनले करिब २ करोड लगानीको पोर्ट्फोलियो पुर्याए । आज सो सबै सेयर बेच्दा पनि ऋण तिर्न नपुग्ने उनको दाबीसमेत छ ।

प्राथमिक बजारमा भने ढकाललाई खासै चासो छैन । एचआईडीसीएलको ५४ कित्ता आइपीओ मात्र हाता पारेका उनले प्राथमिक बजारमा ध्यानै गएन । सेयरबजारलाई निकै रहस्यमय मानेका ढकाल भन्छन्, ‘बजार घट्दा र बढ्दा रमाइलो लिन सके अथवा भनूँ अब्बल लगानीकर्ता बन्न सके नाफा कमाउन सकिने ठाउँ रहेछ। सेयर बजार अवसरैअवसरको खानी रहेछ तर चलाख लगानीकर्ता भन्ने बन्न जरुरत छ ।’

सेयरबजार घटेर कत्ति पनि नअत्तालिएका ढकालले सबै प्यासन सेयरबजार भएको सुनाए । ‘सडकछाप बने पनि यहीँ, करोडपति बने पनि यहीँ’, ढकाल भन्छन् ।

सेयरबाट नाफा नभएसम्म अन्त कतै जाने नसोचेका ढकाल नोक्सानीमा भए पनि आत्मसमर्पण नगर्ने बताउँछन् ।

पूँजीबजारसँग सम्बन्धित नियामक निकायहरु भित्री सेटिङमा लाग्ने गरेको ढकालको आरोप छ । पूँजीबजारको विकास तथा विस्तारका लागि भने सम्बन्धित निकायहरुलाई सचेत गराउन लगानीकर्ताले घच्घच्याउन आवश्यक रहेको उनको बुझाइ छ।

सेयरबाटै उच्च नोक्सान बेहोर्न पुगेका ढकाल सेयरबजारबाट सिकेका पाठ र भोगाइ विषयमा जिज्ञासा राख्दा अति नै धेरै धैर्यता आवश्यक हुने सुनाउँछन् । वियरिस ट्रेन्डमा पन्चाग्नि ताप्नुपर्ने प्रसंग कोट्याउँदै उनले निराशा र नकारात्मक हुन नहुने बताए । नैरश्यताको चरम शिखर चुम्दासमेत आशाको किरण मनमा बाल्न सिकाएको सेयरबजारले यसैबाट नाफामात्रै हुने भावना पाल्न नहुने ठूलो ज्ञान पाएको ढकालको भनाइ छ ।

नयाँ लगानीकर्तालाई एकैचोटि धेरै कम्पनीका सेयर नकिन्न सल्लाह दिँदै ढकाल थोरै कम्पनीमा विस्तृत अध्ययन गरेपछि मात्रै लगानी गर्नुपर्नेमा जोड दिन्छन् । सेयरको लगानी भोलि नै बढ्छ भन्ने मनोविज्ञानले गाँज्न नदिई मूल्य घटबढलाई बेवास्ता गरी कम्पनीहरुका वार्षिक प्रतिफलमा ध्यान दिन ढकाल सुझाउँछन् ।

यसैगरी सेयरबजारलाई गरीखाने भाँडोभन्दा न्यूनतम ५ वर्षसम्म लगानीको अवधि किटान गर्नुपर्ने ढकालको जोड छ। कम्तीमा ३ वर्ष सेयरबजारमा लगानी गरेपश्चात सर्टटम कारोबारी हुनुपर्ने उनको ठम्याइ छ।

आफ्नो स्वविवेक र ज्ञानमा आधारित हुँदै ऋण नलिईकन सेयरमा लगानी गर्न ढकालको सुझाव छ । ऋण नै लिएर सेयरमा लगानी गर्दा पनि समय पहिचान गर्न भने चलख्याइँ गर्न उनको सल्लाह छ।

अन्त्यमा ढकाल आफूले गरेको लगानी सेयरबजारबाटै नाफा कमाउन सक्नेमा ढुक्क भएको बताउँछन् । सेयरबजार जोखिम र सम्भावना बोकेको क्षेत्र हो । ढकालले छोटो समयमा भोगेका सिकाइ र पाठबाट भोलिका दिनमा आमलगानीकर्ताले पनि सचेततापूर्वक र बुद्धिमतापूर्ण सेयरलगानीबाट करोडपति बन्न सकून्, हाम्रो शुभेच्छा ।