काठमाण्डौ । 
‘नेपालीले नेपाल बनाउनका लागि पैसा बचाउनुपर्यो नि । हामीले नबनाए कसले बनाउँछ यो देशलाई ?’ सुन्दर भविष्यको आशाले चम्किएको अनुहारलाई पत्रकारहरुको क्यामेरातर्फ सोझ्याउँदै सेलिब्रेटी  बैंकर अनिलकेशरी शाहले थपे–‘हामी अरुले रोपेर फलाइदिएको सुन्तला मात्र खान बानी परेका छौ । आफैं रोप्न किन ढिला, आजै किन नरोप्ने ?’ 

सन्दर्भ थियो शाह सीइओ रहेको मेगा बैंकले देशव्यापी रुपमा बचतको लहर सिर्जना गर्न ल्याएको बचत प्रोडक्ट ‘नानीमा लागेको बानी, आज बचाऊँ, जिन्दगीभर रमाउँ’ विशेष स्कीमको लञ्च कार्यक्रमको  । 

मञ्चमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीलाई साक्षी राखेर उनले थपे–‘हामीले पहिला हलोदेखि हाइड्रोसम्म भन्ने नारा ल्याउँदा धेरैले गिज्याए, अहिले राष्ट्रबैंकले हलोदेखि हाइड्रोसम्मलाई प्राथमिकता देऊ भनिसक्यो ।’ आफ्नो नवीन अवधारणामाथि थप प्रकाश पार्दै उनले भने–‘सेभिङ रेट सबैभन्दा कम भएको मुलुकका बच्चाबच्चीदेखि नै बचतको बानी बसाउन सकिएन भने हाम्रो भविष्य अझै अन्धकार छ, किनकि पैसा बिना देश बन्दैन ।’ 

‘सेभिङ रेट सबैभन्दा कम भएको मुलुकका बच्चाबच्चीदेखि नै बचतको बानी बसाउन सकिएन भने हाम्रो भविष्य अझै अन्धकार छ, किनकि पैसा बिना देश बन्दैन ।’

बेलैदेखि बचत गर्ने हो भने जिन्दगी आर्थिक रुपमा सहज हुनेमा जोड दिंदै उनले स्कूले बालबच्चादेखि कलेज पढ्नेसम्मलाई लक्षित गरी नयाँ बचत अभियान सार्वजनिक गरिएको जानकारी दिए । ‘हामी शहरदेखि गाउँ गाउँसम्म बचत अभियान लिएर जानेछौ ।’ उनले भने–‘नानीबाबुहरुलाई बैंक खाता खोल्न लगाउनेछौ र त्यसमा पकेट खर्चबाट बचाएर पैसा जम्मा गर्न सिकाउनेछौ ।’ मेगा बैंकले बैंक खाता खोल्न लगाउने र बचत गर्ने बानी बसाउने उद्देश्यले थालेको यो अभियान सामाजिक उत्तरदायीत्व अन्तर्गतको विशेष अभियान रहेको प्रष्ट्याएको छ । 

शाहका अनुसार यो महत्वकांक्षी बचत अभियानका लागि क्रिकेटर पारस खड्का र अभिनेत्री प्रियंका कार्कीलाई  ‘मेगा सेभिङ स्टार’ नियुक्त गरिएको छ । विभिन्न गाउँ तथा शहरी क्षेत्रमा पुगेर खड्का र प्रियंकाले नेपालका बालबच्चालाई बैंकमा खाता खोल्न प्रेरित गर्नेछन् । 

‘बित्तीय समावेशीताको पहिलो काम नै खाता खोल्ने हो ।’ सीइओ शाहले भने–‘पहिलो चरणमा काठमाण्डौ र हाम्रा शाखा रहेका आसपासका स्कूल तथा कलेजमा यो अभियान लिएर जानेछौ ।’ 

शाहका अनुसार शून्य मौज्दातमा स्कूल तथा कलेज पढ्ने विद्यार्थीले खाता खोल्न सक्नेछन् । नाबालकको हकमा उनीहरुका बुबाआमाको हस्ताक्षर लिएर खाता खोलिनेछ । यसप्रकारको खातामा वार्षिक ४ प्रतिशत ब्याज दिइनेछ । ‘बचतको रेट समय अनुसार फरक परिरहेका हुन्छ, तर हामी यो बचत खातामा सबैभन्दा उच्च ब्याजदर राखिदिन्छौ ।’ शाहले भने–‘यो खातासँगै हामी निकट भविष्यमै बिमा र शैक्षिक कर्जाको सुविधा समेत थप गर्दैछौ ।’

उनका अनुसार यो अभियानसँगै साना नानीका आमाबुबा, स्कूलका शिक्षक तथा विद्यालयलाई समेत लक्षित गरी केही नयाँ प्रोडक्टहरुको डिजाइन भइरहेको छ । ‘हाम्रो मुख्य लक्ष्य नै बैंक खाता खुलाउने र बचत गर्ने बानी बसाल्ने हो ।’ उनले थपे–‘स्कूल–स्कूल, शहरदेखि गाउँसम्म पुग्ने क्रममा भ्याए जति सबैलाई बचत गर्न हाम्रा स्टारहरुले प्रेरित गर्नुहुनेछ ।’ 

सीइओ शाहको अवधारणा अनुसार नानीदेखि लागेको बानीले ठूलो हुँदासम्म मान्छेको जीवनमा प्रभाव पारिरहेको हुन्छ । यही कुरालाई बुझेका उनले नानीदेखि नै बचत गर्नका लागि बैंकमा खाता खोल्ने बानी लागे सो बच्चा बयस्क भएपछि उसले बैकिङ कारोबारलाई नै जोड दिने र यसले बैकिङ पहुँच बिस्तार हुने दाबी गरे । 

नेपाल सरकारले बढी भन्दा बढी नेपालीहरुलाई बैकिङ प्रणालीमा ल्याउने र खाता खोलाउने नीति लिएकोमा सो नीतिलाई समेत मेगा बैंकको यो अभियानले निकै ठूलो सहयोग पुग्ने देखिन्छ । 

‘हामी एक्लैले गरेर केही हुनेवाला छैन ।’ शाहले भने–‘हामीले यो अभियान थालेपछि अरुले पनि सिकून् र बचत गर्ने बानी बसाल्ने काममा अन्य बैंक पनि लागून् भन्ने मेरो अवधारणा हो ।’ 

कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले नानीदेखि लागेको बानीले मानिसको जीवनको गोरेटो निर्धारण गर्ने भएकोले सानैदेखि बचत गर्न लगाउने मेगा बैंकको अभियान गज्जबको रहेको प्रतिक्रिया दिइन । 

क्रिकेटर पारस खड्काले बैंकमा खाता खोलेरै बचत गर्नुपर्छ भन्ने नेपाली कल्चर अझै नरहेको उल्लेख गर्दै आफूले दशैंको पैसा बचत गरेर क्रिकेट र ब्याट खरीद गर्ने गरेको विगत सम्झिए । ‘यदि मसँग पनि खाता हुन्थ्यो र बचत गर्ने बानी थियो भने त्यसबेला म कति क्रिकेटका ब्याट र बल किन्थेँ हुँला ।’ उनले भने–‘त्यही भएर काचो माटोजस्ता नानीहरुलाई बेलैदेखि बचत गर्न सिकाए आर्थिक रुपमा सबै सवल हुने थिए ।’