– रेखा चन्द

काठमाण्डौ । लामो समयदेखि बैंकिङ प्रणालीमा तरलता टाइट रहेको छ। आमसर्वसाधारणदेखि ठूलठूला व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगले कर्जा पाइरहेका छैनन्। 

निक्षेप तान्नकै लागि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएर डबल डिजिटमा पुर्याएका छन्। तर, पछिल्लो ४ महिनादेखि भने बैंक तथा वित्तीय संस्थाहरु निक्षेपको ब्याजदर बढाएका छैनन्। 

निक्षेपको ब्याजदर निरन्तर स्थिर राखेका बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्नका लागि पछिल्लो समय आकर्षक योजनाहरु ल्याउँदै आएका छन्। दीर्घकालीन लगानीमा उच्चतम प्रतिफल भन्दै कतिपय बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपमा निश्चित अवधिमा दोब्बर (डबल) हुने योजनाहरु ल्याइरहेका छन्। 

यस्ता योजना वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले ल्याइरहेका छन्। यस्ता योजनामा लगानी गर्दा जोखिम शून्य रहने भएकोले ग्राहकको आकर्षण बढिरहेको छ। लगानी गरेको रकम दोब्बरमात्रै नभई ग्राहकलाई चाहिने बेला बैंक तथा वित्तीयले ९० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेका छन्। 

एनएमबी बैंकले एनएमबि ‘एनएमबि डबल मुद्दति’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दति’ ल्याएको छ। ‘एनएमबि डबल मुद्दति योजना’मा ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकम लगानी गरी खाता खोल्न सक्ने व्यवस्था छ। जसमा ७६ महिनापछि जम्मा गरेको रकम डबल हुनेछ। 

‘एनएमबि जन्मभूमि डबल मुद्दति योजना’मा नेपालीले वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्स रकम ७० महिनामै डबल हुनेछ। 

यसैगरी माछापुच्छ्रे बैंकले पनि ‘माछापुच्छ्रे स्मार्ट मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। जसमा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्न सक्नेछन्। यो खाता न्यूनतम ५० हजारमै खोल्न सकिने छ। 

सेञ्चुरी कमर्सियल बैंकले पनि साढे ६ वर्षमा दोब्बर रकम दिने गरी ‘सेञ्चुरी डबल धमाका मुद्दति खाता’ ल्याएको छ। जुन खाता ग्राहकले १० हजारमा नै खोल्न सक्ने व्यवस्था छ भने सनराइज बैंक लिमिटेडले पनि ‘डबल मुद्दति खाता’ योजना ल्याएको छ। यो खातामा ६ वर्ष ५ महिनामै आफूले राखेको रकमको दुई गुणा रकम सेवाग्राहीले पाउनेछन्। 

यता सनिमा बैंकले पनि ‘सानिमा डबल धमाका मुद्दति खाता’ योजना ल्याएको छ। जसमा लगानी गर्ने ग्राहकले साढे ६ वर्षमा दोब्बर प्रतिफल प्राप्त गर्न सक्ने व्यवस्था छ भने कुमारी बैंकले ‘कुमारी डबल धमाका’ नामक मुद्दति निक्षेप ल्याएको छ। निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने यस मुद्दति निक्षेपमा न्यूनतम मौज्दात १० हजार रहेको छ। कुमारी बैंकको योे मुद्दति निक्षेपमा सजिलै ९० प्रतिशतसम्म कर्जा सुविधासमेत रहेको थियो। 

उता ज्योति विकास बैंकले पनि ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दति योजनाअन्तर्गत ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुईगुणा रकम दिने भएको छ। यसमा न्यूनतम १० हजार जम्मा गरी खाता खाल्न सकिने व्यवस्था पनि रहेको छ। 

यसका साथै समृद्धि फाइनान्सले भने अन्यको भन्दा फरक खालको योजना ल्याएको छ। अन्यले दोब्बर योजना ल्याउँदा यो फाइनान्सले भने रकम आठगुणासम्म हुने निक्षेप योजना सार्वजनिक गरेको छ। मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने, १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना समृद्धिले ल्याएको हो। न्यूनतम ५० हजारदेखि नै खाता खोल्न सकिने व्यवस्था कम्पनीमा रहेको छ। 

ग्राहक किन आकर्षित छन् डबल योजनामा ?

यसो त सेयर बजारमा लगानी गर्ने अधिकांश व्यक्ति अहिले घाटामा छन्। यसबीच बैंकका यस्ता स्किममा लगानी गर्नेहरु भने न त घाटामै छन् न त उनीहरुको लगानी जोखिममा नै छ। 

पछिल्लो समय त झन बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई ध्यानमा राखेर विभिन्न आकर्षक योजनाहरु ल्याइरहेका छन्। ग्राहकलाई बढीभन्दा बढी फाइदा होस् भन्ने उद्देश्यले बैंक तथा वित्ती संस्थाहरुले यस्ता योजना सार्वजनिक गरिरहेका हुन्। 

ग्राहकलाई बढीभन्दा बढी प्रतिफल दिन सकियोस् डबल योजना ल्याइएको माछापुच्छ्रे बैंकका प्रमुख सूचना अधिकारी सुनिल खतिवडा बताउँछन्। ‘देशभर शाखाहरुमा यस योजनामा सहभागी हुनेको संख्या बढ्दो, राम्रो रेसपोन्स पाएका छौँ’, उनले भने, ‘अझै पनि ग्राहकहरुमा यस योजनाका बारेमा राम्रो जानकारी पुगेको छैन। तर जानकारी पुगेको ठाउँबाट राम्रै रेस्पोन्स आइरहेको छ।’ 

ज्योति विकास बैंकका सूचना अधिकारी रामहरि आर्चायले पनि ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दति योजनामा ग्राहकको रेसपोन्स राम्रो रहेको बताए। ‘हामीले यो योजना लन्च गरेको एक हप्ता पनि भएको छैन तर समग्र रेसपोन्स राम्रो छ’, उनले भने, ‘ग्राहकलाई दीर्घकालीन लगानीमा फाइदा होस् भनेर यो योजना ल्याइएको हो।’ 

समृद्धि फाइनान्सका सूचना अधिकारी विनोदराज पौडेलले ‘दोब्बर योजना’ मा ग्राहकको सहभागिता बढिरहेको बताए। ‘यो योजना भर्खर ल्याएका कारण प्रचारप्रसारको कार्य जारी छ, बजारमा यसको जानकारी पुगिसकेको छैन’, उनले भने, ‘ग्राहकको सहभागिता बढ्दो क्रममा छ।’ 

ग्राहकलाई बढीभन्दा बढी रिटर्न दिन र उनीहरुको आवश्यकतालाई ध्यानमा राखेर यो योजना ल्याइएको पौडेलको भनाइ छ।