काठमाण्डौ । आकस्मिक अवस्थामा मानिसलाई हुने पैसाको आवश्यकता पूरा गर्न विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले आफ्नो हात अगाडि बढाएको छ । फेसबुुकले यही प्रयोजनका लागि आफ्नो वेबसाइटमा फण्ड राइजिङ टुुल्सलाई बिस्तार गरेको छ । यो त्यस्तो टुुल हो, जसले कुनै पनि व्यक्तिलाई समस्या पर्दा उसका साथीभाई र आफन्तहरुसँग जोडिन मद्धत गर्नेछ र यो ठाउँमा समस्यामा परेको व्यक्तिले आफन्तहरुसँग सहयोगका लागि अपील गर्न सक्नेछन् । यो सामाजिक नेटवर्किङ साइटले हालै फण्ड राइजिङ फिचर्समा कम्युनिटी र स्पोर्टस क्याटेगोरीलाई समेत जोड्ने काम गरिरहेको छ । 

व्यक्तिगत फण्ड राइजर्सले व्यक्तिलाई आफ्ना साथीभाई वा खूद आफ्नै लागि सिधा फेसबुकबाट पैसा संकलन गर्ने अनुमति दिन्छ । 

अन्तराष्ट्रिय संचारमाध्यमहरुमा छापिएको एक रिपोर्टका अनुसार कुनै पनि व्यक्तिले शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यकीय खर्चका लागि फेसबुकको यो फिचर्सको माध्यमबाट आफ्ना साथीभाई वा अन्य कोही व्यक्तिसँग पनि सहयोग माग्न सक्नेछ । यसबाहेक आकस्मिक सहयोग, व्यक्तिगत इमेरजेन्सी, खेलकूद र समाज सेवासँग जोडिएका विभिन्न गतिविधि तथा कामहरुका लागि समेत यो प्ल्याटफर्ममा पैसा माग्न सकिनेछ । 

फेसबुुकले गत मार्चबाटै व्यक्तिगत फण्ड राइजिङलाई परीक्षणमा ल्याएको थियो । यसलाई मानिसहरुले खूूबै रुचाएपछि अहिले कार्यान्वयनमा ल्याइएको मिडिया रिपोर्टमा उल्लेख छ । 

कसरी माग्ने पैसा ?
फेसबुकमा चन्दा संकलनका लागि सबैभन्दा पहिला प्रयोगकर्ताले आफ्नो मोवाइल, ल्यापटप वा कम्प्युटरमा फेसबुक खोलेर फण्डरेजर्स क्याटोगोरीमा जानुुपर्ने हुन्छ । आफ्नो डेस्कटपमा फेसबुक डटकम स्ल्यास फण्डरेजर्स टाइप गर्नुहोस् । त्यसपछि फण्ड(चन्दा) जुटाउनका लागि अपील गर्नुुहोस् । यसका लागि फण्डरेजर्सलाई तपाईले उसको प्ल्याटफर्म प्रयोग गरेर जुटाउनुभएको कुल फण्डको ६.९ प्रतिशत शुल्क तिर्नुपर्ने हुन्छ । यस अलावा ३० सेन्ट्स प्रोसेसिङ, जाँच तथा सुरक्षाका लागि सुरुमै तिर्नुपर्ने हुन्छ ।