भारतबाट आएर नेपालमा व्यापार गरिरहेका मारवाडी समुदायले विसं १९९० सालमा नेपालमा भूकम्प जाँदा उद्धार, उपचार र शिविर चलाएर जुद्ध शमशेरको मन जितेका थिए । त्यसपछिको पुनर्निर्माणमा जुद्ध सडकको पहिलो लहरमा केही नयाँ पसल निर्माण भए । भूकम्पमा राम्रो काम गरेबापत पुरस्कारस्वरूप तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले त्यसमध्येको एउटा पसल भुरामल चौधरीलाई चलाउन दिएका थिए । यसरी १९९० को महाभूकम्पपछि चौधरी ग्रुपको जग बसेको थियो । त्यसको ८२ वर्षपछि ०७२ मा गएको भूकम्पका कारण जनधनको ठूलो क्षति हुँदा चौधरी ग्रुपले सर्वसाधरणका लागि ‘ट्रान्जिसनल घर’ निर्माण गरिरहेको छ । ८ दशकअघि काठमाडौंको चोकचोकमा कपडाको पोको बोकेर घुमुवा व्यापार गर्ने भुरामल चौधरी छोरा लुनकरणदासलाई सँगै घुमाउँथे । जुद्ध शमशेरको शासनकालमा दरबारमा समेत कपडा लगेर बेच्थे भुरामल । बालक लुनकरणदासलाई त्यही वेलादेखि व्यापारमा चाख लागेको थियो ।

जुद्ध शमशेरले भुरामललाई दिएको सो पसल उनले छोरा लुनकरणदासको नामसमेत जोडेर ‘भुरामल लुनकरणदास चौधरी’को ब्यानरबाट औपचारिक र संगठित कपडा पसल सुरु गरे । त्यसको ८ दशकपछि चौधरी ग्रुप अहिले नेपालकै पहिलो बहुराष्ट्रिय समूह बनेको छ । बाबुसँग सिकेर सानैमा व्यापारमा लागेका लुनकरणदासले आफ्ना बाबुले सुरु गरेको व्यापार सम्हालेनन् मात्र, त्यसलाई संस्थागत गर्दै आफू संस्थापक अध्यक्ष भएको चौधरी ग्रुपको साम्राज्यलाई बहुराष्ट्रिय बनाउन इट्टा थपे । आफ्नो व्यापारको दायरालाई अन्तर्राष्ट्रियकरण गराउन योगदान पुर्‍याउने उनै लुनकरणदास चौधरी ९३ वर्षको उमेरमा १३ दिनअघि संसारबाट अस्ताएका छन् ।

हाल चौधरी ग्रुपभित्र ४० वटा उद्योग छन्, त्यही उद्योगका माध्यमबाट ग्रुप विश्वबजारमा चिनिएको छ । शिक्षा, स्वास्थ्यलगायतका सेवा क्षेत्रमा समेत ठूलो लगानी छ । यसको प्रमुख श्रेय जान्छ, लुनकरणदास चौधरीलाई । जुद्धशमशेरले पसल चलाउन अनुमति दिएपछि पहिलो वर्षको २ सय र पछि ५ सय भाडा तिरेर अहिलेको विशालबजारको ठीकअगाडि व्यापार सुरु गरेका लुनकरणदासले स्थापना गरेको चौधरी ग्रुपमा अहिले १० हजारभन्दा बढीले रोजगारी पाएका छन् । काठमाडौंको मखन टोलमा १९७९ सालमा जन्मेका लुनकरणदास चौधरीले आफ्नो बाबुको शेषपछि २३ वर्षको उमेरमा व्यापार सम्हाले । उनले ‘भुरामल लुनकरणदास पसल’ र ‘अरुण इम्पेक्स’को नामबाट स्थानीय तवरमा गर्दै आएको व्यापारलाई नेपालबाहिर पनि जोडेका थिए । त्यसवेला विराटनगरबाट जुट निर्यात गरेर धेरै व्यवसायी चम्केका थिए ।

त्यसैमा सामेल भएर लुनकरणदासले विराटनगर जुट उद्योगको स्थापना गरे र भारत, अमेरिका र युरोपमा जुट निर्यात गरे । यसरी काठमाडौंबाहिर ‘भुरामल लुनकरणदास चौधरी’को शाखा विस्तार भयो । निकासीको कामपछि उनले जापान र कोरियाबाट फेब्रिक आयात सुरु गरे । व्यापार मात्र गर्दै आएको चौधरी परिवारमा लुनकरणदासले उद्योगसँगै निर्माण क्षेत्रमा पनि हात हाले । २०१४ सालमा काठमडौं–त्रिशूली सडक निर्माणको वेला ‘सब कन्ट्रयाक्ट’ पाए । त्यो अनुभवले सोल्टी होटेल निर्माणको ठेक्का लिए । त्यसपछि साझेदारीमा युनाइटेड बिल्डर्सको नाममा कन्स्ट्रक्सन कम्पनी खोले ।

नेपालमा सजावटमा धेरैको चासो बढेपछि २०२० मा नेपालको पहिलो फ्लोरिङ एन्ड फर्निसिङ आउटलेट खोले, जुन जुद्धशमशेरले १९९० पनि अनुमति दिएको पसलमा खोलिएको थियो । यो व्यापार यसरी चम्क्यो कि काठमाडौंमा २ वटा र विराटनगरमा एउटा शाखा खोल्नुपर्‍यो । उनले ०२२ सालमा वीरगन्जमा केडिया परिवार र निरञ्जन जाटियाहरूसँग मिलेर मोर्डन होजियारी उद्योग स्थापना गरी उच्च गुणस्तरको होजियारी सामान उत्पादन थाले । जसको ब्रान्ड राखे, ‘राइनो’ । राइनोले आयातीत फेब्रिकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्यो । लगत्तै त्यही वर्ष चौधरीले नेपाल स्पिनिङ वेभिङ एन्ड निटिङ उद्योग स्थापना गरे । जसले विदेशबाट आयातीत उनी धागोबाट विभिन्न आधुनिक लत्ताकपडाहरूको उत्पादन गथ्र्यो ।

त्यसको २ वर्षपछि उनले वीरगन्जमा रत्न स्टेनलेस स्टिल उद्योग स्थापना गरे । यसले विभिन्न आधुनिक भाँडाहरूको उत्पादन थालेको थियो । परम्परागत व्यापारलाई संस्थागत गर्दै उद्योगमा प्रवेश गरेका लुनकरणदासले विराटनगरमा नै पशुपति बिस्कुट, महालक्ष्मी मैदा मिलको पनि स्थापना गरेका थिए, जुन अहिले पनि चालू छन् । नेपालबाट बिस्कुट निर्यात गरेर उनले भारतका प्रचलित ब्रान्ड ब्रिटानिया र पार्लेसँग प्रतिस्पर्धा गरे । उनले ०२५ सालमा अरुण इम्पोरियमका नाममा खिचापोखरीमा नेपालको पहिलो र ठूलो आधुनिक डिपार्टमेन्टल स्टोर खोलेका थिए । जहाँ तयारी कपडा, इलेक्ट्रोनिक्सलगायत उपभोग्य सामान राखिएको थियो । यो स्टोर नेपालीमाझ मात्र नभएर नेपाल आउने र बस्ने भारतीयमाझ पनि प्रख्यात र आकर्षक थियो ।

त्यसको २ वर्षपछि उनले आधुनिक अवधारणासहित आयात र निर्यात व्यापारका लागि अरुण इम्पेक्स खोले । यसले लत्ताकपडा, निर्माण सामग्री, हार्डवेयर, खाद्यान्न तथा मसलाहरू आयात–निर्यातको काम गथ्र्याे । चौधरी ग्रुप अहिले कुन क्षेत्रमा फैलिएको छैन ? वाइवाइ चाउचाउ उत्पादन गरेर प्रख्यात भएको चौधरी ग्रुपले वाइवाइलाई नेपाल र भारतमात्र होइन, युरोप अफ्रिकासम्म पुर्‍याएको छ । बायोटेक र आयुर्वेदमा समेत यसको लगानी छ । सिजी सिमेन्ट होस् या सिजी इलेक्ट्रोनिक्स, जडीबुटी, खाद्यान्न, निर्माण होस् या सजावट कुनै न कुनै माध्यमबाट प्रत्येक नेपालीको घरमा चौधरी ग्रुप छिरेको छ । नेपालकै पहिलो पाँचतारे अस्पतालका रूपमा चिनिने नर्भिक इन्टरनेसनल हस्पिटलमा चौधरी ग्रुपकै लगानी छ । हस्पिटलले मेडिकल कलेजमा पनि लगानी गरेको छ । चौधरी ग्रुपले शिक्षा क्षेत्रमा चाँदवाग स्कुल, दिल्ली पब्लिक स्कुल, क्याम्पियन स्कुल तथा कलेज, सिजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, प्रिमियर कलेज, एक्सल कलेजमा लगानी गरेको छ । सिजी सोलारदेखि बैंक तथा वित्तीय संस्थामा पनि आफूलाई अगाडि नै उम्भ्याएको छ । सिजी फिन्कोमार्फत वेस्टर्न युनियनमा होस् या युनाइटेड फाइनान्स, युनाइटेड इन्स्योरेन्स, नबिल बैंकमा होस् वित्तीय क्षेत्रको लगानी बढिरहेको छ । सिजी मार्ट, सिजी मनी पनि चौधरी ग्रुपका उत्पादन हुन् । तयारी खाद्यपदार्थमा वाइवाइबाहेक मामा भुजिया, क्विक्स चिजबल्स र आलु चिप्स चौधरी ग्रुपकै उत्पादन हुन् ।

पेयपदार्थमा सिजी बेभरेजमार्फत पानी होस् या रियो, नेपालमा उत्पादन थालेर विदेशी बजारमा चौधरी गु्रपले पुर्‍याएको छ । चुरोटदेखि बियरमा समेत यसको लगानी छ । पूर्वाधार क्षेत्रमा होटेल, रिसोर्ट, रियलस्टेटदेखि टेलिकमसम्ममा चौधरी ग्रुपको लगानी छ । सिजी मोटोकर्पमार्फत ग्रुपले सवारीसाधनको व्यवसायसमेत गर्छ । सिजी सिटिस्केप, कुसुम आयल इन्डस्ट्रीमा समेत चौधरी ग्रूपको लगानी छ । बिजुली गतिमा फैलिएको र प्रगति भएको चौधरी गु्रपको सबै व्यवसायमा उनै लुनकरणदास चौधरीको सूत्र जोडिएको छ । उनका ३ छोरा विनोद, वसन्त र अरुण चौधरी छन् । त्यस्तै, १ छोरी कुसुम अग्रवाल छिन् ।

उनका जेठा छोरा विनोद विश्वका अर्बपतिको सूचीमा छन् । जेठा छोरा विनोद भन्छन्, ‘आज हामी जुन स्थानमा छौँ त्यो सबै बुबाका कारणले भएको हो । बुबाले हरेक पाइलामा हामीलाई व्यापार सिकाउनुहुन्थ्यो । उहाँकै पदचाप पछ्याउँदै चौधरी ग्रुपलाई विश्वव्यापी बनाउन सफल भएका छौँ ।’ त्यो वेला आधुनिक व्यापारदेखि आयात–निर्यात र उद्योगधन्दा चलाउने कुरा चानचुने नभएको उनको तर्क छ । ‘उहाँले धेरै कुरामा आँट गर्नुभयो,’ उनी भन्छन्, ‘परिवार र व्यापार दुवैलाई नयाँ उचाइमा पुर्‍याउनुभयो, यो विरासत थाम्दै हामीले थप उचाइमा पुर्‍याउनेछौँ ।’ नेपाली चेम्बर अभियानमा सुरुदेखि लागेर त्यसलाई चलायमान बनाउन पनि लुनकरणदास चौधरीको योगदान छ । उनी नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य संघका संस्थापक सदस्यसमेत हुन् । मारवाडी सेवा समिति नेपालका संस्थापक सदस्य रहेका लुनकरणदास चौधरीले स्वास्थ्य, शिक्षा, कला, साहित्यका लागि पनि विभिन्न संस्था स्थापना गरेका थिए ।

लुनकरणदाससँग नजिक रहेका पूर्वमूख्यसचिव दामोदर गौतम भन्छन्, ‘उहाँ जहिले पनि नेपालमा उद्योग व्यापार फल्यो फुल्यो भने नेपाल राष्ट्र, नेपाल सरकार र नेपाली जनता बलिया र धनी बन्न सक्छन् भन्ने विश्वास राख्नुहुन्थ्यो । सरकारले व्यापारीलाई बलियो हुने मौका दिनुपर्छ भन्ने उहाँको मत थियो । यही सिद्धान्तका आधारमा सरकारले व्यापारीलाई माया गर्नुपर्छ र व्यापारीले पनि सरकारलाई तिर्नुपर्ने उचित कर तिर्नुपर्छ भन्ने उहाँको मान्यता थियो ।’ उनका कान्छा छोरा अरुण भन्छन्, ‘बुबाले कहिल्यै पनि कुनै काममा हस्तक्षेप गर्नुहुन्थेन । हामीले गरेको कामको टाढाबाट नै निरीक्षण गर्नुहुन्थ्यो ।’

-नयाँपत्रिकाबाट