काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडको आर्थिक वर्ष २०७४/७५ मा खूद नाफा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भएको छ । 

अघिल्लो वर्ष ८ करोड ७७ लाख खूद नाफा आर्जन गरेको फाइनान्सले त्यसलाई केही बढाएर यो वर्ष ९ करोड १३ लाख पुर्याएको हो । 

नाफामा सामान्य मात्र प्रगति भएको र चुक्तापूँजी भने करिब ४६ प्रतिशतले बढेका कारण यो कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १५.७५ रुपैयाँ रहेकोमा घटेर ११.१९ रुपैयाँमा सीमित भएको हो । 

समीक्षा अवधिमा यो कम्पनीले व्यवसाय बिस्तारमा खासै ध्यान दिन नसकेको देखिएको छ । यहीकारण खूद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष १८ करोड ८४ लाख रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष १६ करोड ९९ लाखमा सीमित बन्न पुगेको छ । 

यो अवधिमा पोखरा फाइनान्सले ४ अर्ब ३२ करोड निक्षेप संकलन गरी ४ अर्ब कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ६१ करोड निक्षेप संकलन गरी ३ अर्ब ३२ करोड कर्जा परिचालन गरेको थियो । 

कम्पनीले आफ्नो जगेडाकोषलाई भने निकै मजबुत बनाएको छ । अघिल्लो वर्षसम्म २१ करोड ४६ लाख रुपैयाँ रहेको कोषको आकार बढी ३५ करोड ७५ लाखको उचाईमा पुगेको हो । 

यस्तै, अघिल्लो वर्ष १३ करोड ३६ लाखमा सीमित संचालन मुनाफा बढेर १४ करोड १५ लाखको उचाईमा पुगेको छ भने १.४१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.१२ प्रतिशतको अनुपातमा झरेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १४३.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.०७ गुणा कायम भएको छ ।