काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि शेयरधनीहरुलाई ७ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६ करोड २७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको हो ।

समीक्षा अवधिमा संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा २.९६ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ । संस्थाले १० करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी २८ करोड ५३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष २३ करोड २ लाख रुपैयाँमा सीमित थियो ।

संस्थाको सञ्चालन मुनाफा १५ करोड २१ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाले ५ अर्ब ७९ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ४ अर्ब २५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ८५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो।

संस्थाले रिजर्बको आकार अघिल्लो वर्षको तुलनामा १४.०९ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १६ करोड ४४ लाख रुपैयाँको रहेको संस्थाको रिजर्बको आकार बढेर समीक्षा अवधिमा बढेर १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

संस्थाको खराब कर्जा ०.७९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको खराब कर्जा १.१२ प्रतिशत रहेको थियो। संस्थाको खराब कर्जामा ०.३३ प्रतिशतले घटेको देखाएको छ।

संस्थाको क्यापिटल एडेक्वेसी रेसियो १८.९४ प्रतिशत रहेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी १२.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.९९, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९१७.०१ रुपैयाँ र पीई रेसियो ११.०३ गुणा रहेको छ ।