काठमाण्डौ । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको स्थलबाट ६८ जनाको शव निकालिएको छ। 

दुर्घटनाग्रस्त क्षेत्र सेतीको खोँचबाट अहिलेसम्म ६८ जनाको शव संकलन गरिएको पोखरा विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए। ‘तीमध्ये ३५ जनाको शव पश्चिमाञ्चल अस्पताल लगिएको छ’, उनले भने, ‘बाँकीको शव घटनास्थलमै रहेको छ। ४ जना अझै फेला पर्न सकेका छैनन्।’ 

अस्पताल पुर्याइएकामध्ये अहिलेसम्म ५ जनाको मात्र सनाखत भएको छ। लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको हो। 

विमानमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना थिए।