काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २५ करोड ७३ लाख खूद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष यो कम्पनीको खूद नाफा २१ करोड १२ लाखमा सीमित थियो । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण कम्पनीले खूद ब्याज आम्दानीमा पनि राम्रो बढोत्तरी गरेको छ । अघिल्लो वर्ष ३४ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष ४० करोड ५९ लाखको उचाईमा पुगेको छ । 

यस्तै, अघिल्लो वर्ष ३३ करोडमा सीमित संचालन मुनाफा बढेर ४० करोड ३७ लाख माथि पुगेको छ । 

समीक्षा अवधिमा आरएमडिसीले ५ अर्ब ६१ करोड सापटी लिई ६ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ९९ करोड सापटी लिई ५ अर्ब ७५ करोड कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीको रिजर्ब निकै बलियो छ । अघिल्लो वर्षसम्म १ अर्ब १७ करोड रहेको रिजर्बको आकार बढी १ अर्ब ४३ करोडको भएको छ । 

कुल ७२ हजार ६७ लाख चुक्तापूँजी रहेको यो कम्पनीमा खराबकर्जा छैन । कोषको लागत खर्च पनि ७.७७ प्रतिशत मात्र छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३५.४१ रुपैयाँ कायम भएको छ । यो भनेको गत वर्षको इपीएसभन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष २९.०७ रुपैयाँ रहेको थियो । 

कम्पनीको प्रतिसेयर नेटवर्थ २९७.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७८ गुणा कायम भएको छ ।