काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बैंकिङ प्रणाली स्तरोन्नतिका लागि तीन दिन बैंकिङ सेवाहरु पूर्ण रुपमा बन्द गर्ने भएको छ।

बैंकले हाल प्रयोग गरी रहेको प्राथमिक बैंकिङ प्रणाली (Core Banking System) लाई परिवर्तन गरी थप सुविधासहितको Finacle Core Banking System प्रयोगमा ल्याउनेका लागि तीन दिन बैंकिङ सेवाहरु पूर्ण रुपमा बन्द गर्ने भएको हो। 

बैंकका अनुसार भदौ १७ गते शुक्रबार सन्ध्याकालीन काउन्टर, भदौ १८ गते शनिबार बिदा काउन्टरहरु, भदौ१ ९ गते आइतबार सम्पूर्ण बैंकिङ कारोबार र भदौ १७ गते शुक्रबार बेलुका ६ बजेपश्चात इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम (क्रेडिट कार्ड र प्रिपेड कार्डबाहेक), रेमिट्यान्सलगायत अन्य सम्पूर्ण बैंकिङ कारोबार बन्द हुनेछन्। 

कोर बैंकिङ सिस्टम परिवर्तनपश्चात् ग्राहकले हाल कायम रहेको खाता नम्बरबाटै साबिकबमोजिम कारोबार गर्न सकिने पनि बैंकले जनाएको छ। ती दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ कारोबार उल्लेखित मितिअगावै गरी सहयोग गरिदिनसमेत ग्राहकलाई बैंकले आग्रह गरेको छ। 

यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा याचना गरेको छ।