काठमाण्डौ । सेयर लगानीकर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्न लोभ्याउने एउटा तत्व हो प्रतिसेयर आम्दानी । तर, आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्ने क्रममा सोझा लगानीकर्तालाई झुक्याउने नियतले ठूला बैंकहरुले प्रतिसेयर आम्दानी नै गलत प्रकाशित गर्ने गरेका भेटिएको छ । 

आइतबार माछापुच्छ्रे बैंकमाथि प्रति सेयर आम्दानी बढाएर प्रकाशित गरिएको आरोप लागेसँगै सोमबार प्रगति विवरण सार्वजनिक गरेको लक्ष्मी बैंकमाथि पनि त्यस्तै आरोप लागेको छ ।

लक्ष्मी बैंकले प्रति सेयर आम्दानी २५ रुपैयाँ ४३ पैसा कायम भएको भन्दै बित्तीय विवरण प्रकाशन गरेको छ । तर, प्रतिसेयर आम्दानी निकाल्ने सूत्र प्रयोग गर्दा १४ रुपैयाँको हाराहारीमा मात्र निस्किने देखिन्छ । 

प्रतिसेयर आम्दानीले प्रतिकित्ता सेयरबराबर कम्पनीले कति आम्दानी गर्यो भन्ने देखाउँछ । यो दर निकाल्ने निश्चित सूत्र हुन्छ । कम्पनीले प्रत्येक वर्ष गर्ने खूद नाफालाई सो कम्पनीको त्यसबेला कायम कुल सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ ।

लक्ष्मी बैंककै उदाहरण हेर्ने हो भने उसले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १ अर्ब २४ लाख ७७ हजार खूद नाफा गरेको देखिएको छ । यो अवधिसम्म बैंकको चुक्तापूँजी ७ अर्ब ४७ करोड २४ लाख १२ हजार रुपैयाँ रहेको छ । १ सय रुपैयाँ अंकित दरले हिसाब गर्दा यो बैंकको सेयर संख्या ७ करोड ४७ लाख २४ हजार १ सय २० कित्ता हुन आउँछ । यो सेयर कित्तालाई खूद नाफाले भाग गर्दा १३ रुपैयाँ ४१ पैसा प्रतिसेयर आम्दानी भएको देखिन्छ । यो बैंकले गत वर्ष सतप्रतिशत हकप्रद बिक्री गरेको थियो । यसकारण समेत प्रतिसेयर आम्दानीमा गिरावट भएको हो । 

माछापुच्छ्रे बैंकले प्रतिसेयर आम्दानी १९ रुपैयाँ हुनुपर्नेमा २३ रुपैयाँ देखाएको थियो । यसअघिका वर्ष तथा त्रैमासहरुमा समेत बैंकहरुले गलत विधि प्रयोग गरी लगानीकर्तालाई झुक्याउनका लागि मात्र प्रतिसेयर आम्दानीमा गडबडी गर्ने गरेका थिए । 

सोमबार बित्तीय विवरण सार्वजनिक गरेको लक्ष्मी बैंकको अन्य समग्र प्रगति भने राम्रो देखिएको छ । खूद नाफातर्फ यो बैंकले निकै ठूलो फड्को मारेको छ । अघिल्लो आर्थिक वर्षसम्म यो बैंकले ६७ करोड ७१ लाख नाफा कमाएको थियो । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीमा पनि औसत प्रगति भएको छ । अघिल्लो वर्ष १ अर्ब ३० करोड खूद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १ अर्ब ६५ करोड त्यस्तो आम्दानी गरेको छ । अघिल्लो वर्ष ९६ करोड १६ लाखमा सीमित संचालन नाफा बढाएर १ अर्ब ३५ करोडको उचाईमा पुर्याइएको छ । 

यसैगरी, बैंकले यो अवधिमा ५९ अर्ब ३२ करोड निक्षेप संकलन गरी ५२ अर्ब ७३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४८ अर्ब १५ करोड निक्षेप संकलन गरी ४० अर्ब ३५ करोड कर्जा परिचालन गरेको थियो । 

नाफामा राम्रै फड्को मारे पनि बैंकको रिजर्ब कोष भने घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्म २ अर्ब ६१ रुपैयाँ रहेको कोषमा घटेर यो वर्ष २ अर्ब १८ करोड मात्र कायम भएको छ । 
बैंकको निस्क्रिय कर्जा अनुपात पनि बढेको छ, यो राम्रो संकेत होइन । अघिल्लो वर्ष ०.८० प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात बढेर यो वर्ष ०.९३ प्रतिशत पुुगेको छ । ४.१० प्रतिशतमा रहेको कस्ट अफ फण्ड बढेर ७.४० प्रतिशतमा पुुगेको छ ।