काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अब हरेक प्रदेशमा कम्तीमा ५ प्रादेशिक स्तरको धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर) दिने भएको छ ।

बोर्डले अबको १ महिनाभित्रै ७ वटै प्रदेशमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको हो । 

संघीय संरचनामा मुलुक गइसकेपछि नेपाल धितोपत्र बोर्डले प्रादेशिक ब्रोकर लाइसेन्सको अवधारणालाई अघि सारेकोमा अब १ महिनाभित्रै प्रादेशिक ब्रोकर लाइसेन्स दिने विषयमा अन्तिम प्रारुप तयार गरिएको धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले जानकारी दिएका छन्।

अब हरेक प्रदेशमा कम्तीमा ५ वटा नयाँ धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)को लाइसेन्स दिन तयारी भइरहेको जिकिर गरेको बोर्ड अध्यक्ष ढुंगानाले प्रादेशिक ब्रोकर प्रदेशकै व्यक्तिले सञ्चालन गर्नुपर्ने शर्त राखिएको बताए । 

काठमाण्डौंकै व्यक्तिले भने प्रादेशिक ब्रोकर लाइसेन्स नपाउने उनको दाबीसमेत छ । ती प्रादेशिक ब्रोकरले आफ्नो क्षेत्रभित्र आधिकारिक प्रतिनिधिमार्फत ग्राहक विस्तार गर्नुपर्ने, सेवा विस्तार गर्नुपर्ने प्रावधान समावेश हुने उनको भनाइ छ ।

प्रादेशिक ब्रोकरको लाइसेन्स लिएका सम्बन्धित ब्रोकरले सम्बन्धित प्रदेशभित्र सेवासुविधा र सेयर शिक्षा पनि अनिवार्य रुपमा दिनुपर्ने शर्त राखिने बोर्ड अध्यक्ष ढुंगानाले बताएका छन् ।

पछिल्लो समयमा धितोपत्र बजारका विषयमा देशभरका नागरिकहरुले निकै चासो दिइरहेका छन् । धितोपत्र बजारका बारेमा देशभर चेतना फैलिएसँगै प्रदेशहरुमा समेत नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने बोर्डको तयारीले बजारको थप विकास र विस्तारमा सघाउ पुग्ने ठानिएको छ । 

हाल काठमाण्डौ केन्द्रीय कार्यालय रहेका ५० ब्रोकर कम्पनीले देशका विभिन्न ठाउँमा शाखा संचालन गरिरहेका छन् ।