काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८० को प्रथम त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट १७ करोड ७४ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट १६ करोड ३९ लाख रुपैयाँ र जीवन व्यवसायबाट ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाब नाफा निर्जीवनतर्फ बढेको छ भने जीवनतर्फ घटेको छ। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च निर्जीवनतर्फ घटेको छ भने जीवनतर्फ बढेको छ। यो अवधिमा निर्जीवनतर्फ २ करोड ३१ लाख रुपैयाँ र जीवनतर्फ १ लाख २२ हजार रुपैयाँ व्यवस्थापन खर्च भएको छ। गत वर्ष यही अवधिमा यस्तो खर्च क्रमशः ३ करोड ९९ लाख रुपैयाँ र ६३ लाख ३० हजार रुपैयाँमात्रै थियो। 

प्रथम त्रैमासमा यो कम्पनीको आयव्यय हिसाबबाट सारिएको नाफाअन्तर्गत निर्जीवन व्यवसायतर्फ ४२ करोड २६ लाख रुपैयाँ र जीवन व्यवसायतर्फ १ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा आम्दानी क्रमशः ५ करोड ८१ लाख रुपैयाँ र ११ करोड ६४ लाख रुपैयाँ रहेको थियो। 

लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ २७ करोड ५७ लाख रुपैयाँ र जीवन व्यवसायतर्फ ३९ लाख ३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः २० करोड ९४ लाख रुपैयाँ र ३४ लाख ११ हजार रुपैयाँ थियो।

समीक्षा अवधिसम्म यो कम्पनीको निर्जीवन व्यवसायतर्फको बीमा कोषको आकार सामान्य घटेर २ अर्ब ५१ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्षको यही अवधिमा बीमा कोषको आकार २ अर्ब ५४ करोड रुपैयाँ थियो। 

यो अवधिमा निर्जीवन र जीवनतर्फको बीमा कोषमा क्रमशः ५ अर्ब ३९ करोड रुपैयाँ र ६३ करोड ३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा बीमा कोषमा क्रमशः ४ अर्ब ७७ करोड रुपैयाँ र ६६ करोड ९७ लाख रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फको खुद बीमा शुल्क घटेर ८५ करोड ८६ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा खुद बीमा शुल्क २ अर्ब १२ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। 

यस्तै प्रथम त्रैमासमा जीवन व्यवसायतर्फको बीमा शुल्क बढेर ५७ करोड ६६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा जीवन व्यवसायतर्फको बीमा शुल्क ३५ करोड १५ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६.४८ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ९.६० रुपैयाँ थियो।

पीई अनुपात ८९.६६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७३.३४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५७.८७ रुपैयाँ कायम भएको छ।