काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा १७.५८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १६.८४ प्रतिशतले घटेको छ। गत वर्ष ११ करोड ५६ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा घटेर ९ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ। 

संस्थाले खुद ब्याज आम्दानीबापत १० करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा ११ करोड ८५ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाले ६ अर्ब ९६ करोड रुपैयाँ सापटी लिई ८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ७ अर्ब ५५ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको जगेडा कोष ६.२३ प्रतिशतले घटेर १ अर्ब ५८ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको जगेडा कोषको आकार १ अर्ब ६८ करोड रुपैयाँको थियो।

१ अर्ब ३ करोड रुपैयाँको चुक्तापुँजी बनाएको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३.४३ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ रहेको संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३६.५३ गुणा रहेको छ।