काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश एकको विभिन्न पाँच स्थानमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। 

समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय–आर्जनका बारेमा अग्रसर गराउने उद्देश्यले माघ १३ गतेबाट सञ्चालित कार्यक्रम चन्द्रगढी, बिर्तामोड, इटहरी, धरान र विराटनगरमा सम्पन्न भएको छ। 

भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीको अध्यक्षतामा माघ १३ गते चन्द्रगढीमा सञ्चालित कार्यक्रममा ८० जनाको सहभागिता थियो। उपमेयर कार्कीले महिलाहरुको आर्थिक सामाजिक विकासका लागि सञ्चालित कार्यक्रममा भद्रपुर नगरपालिका महालक्ष्मी लाइफसँग मिलेर काम गर्न तयार रहेको धारणा व्यक्त राखिन्। 

गुञ्जन थापाबाट स्वागत मन्तव्य राखिएको अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, बजार प्रमुख प्रशान्तराज धमला, चन्द्रगढी कार्यालय प्रमुख गीर्वाण भट्टराई र ९ नम्बर वडा सदस्य मञ्जु राउत खड्काले कार्यक्रमको महत्व र उपयोगिताबारेमा प्रकाश पारेका थिए। 

माघ १४ गते बिर्तामोडमा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्दा तामाङको अध्यक्षतामा सम्पन्न उत्प्रेरणा कार्यक्रममा १४० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रमेशकुमार भट्टराईले बीमाजस्तो परोपकारी काममा सहभागी भई घरको जिम्मेवारी बहनसँगै मनग्य आयआर्जन गर्न सकिने बीमा व्यवसायमा संलग्न हुन महिलाहरुलाई आग्रह गरे। 

कार्यक्रममा कम्पनीका बजार प्रमुख प्रशान्तराज धमला, कम्पनीका गुञ्जन थापा, गंगाराम थापा, जेसिस अध्यक्ष सुस्मा पौडेल र बोर्डिङ प्रिन्सिपल भास्कर भट्टराईले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गरेका थिए। 

त्यसैगरी माघ १६ गते विराटनगरमा हरिनगरा गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भयो। ९० जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा मञ्जु भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन्। सहभागीहरुलाई महिला अधिकारकर्मी शान्ति पाख्रिन, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, बजार प्रमुख प्रशान्तराज धमला, उपक्षेत्रिय प्रमुख हिरा निरौलाले बीमाको माध्यमले महिलाहरुलाई सक्रिय हुन र आयआर्जनको बाटोमा अग्रसर हुन प्रेरणा प्रदान गरेका थिए। 

महालक्ष्मी लाइफले माघ १५ गते इटहरी र धरानमा पनि महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो। स्थानीय महिला नेतृको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बजार प्रमुखले उत्प्रेरणात्मक मन्तव्य राखेका थिए। 

माघ १५ गते नै ललितपुरको कुमारीपाटीमा पनि महिला सशक्तीकरण सम्बन्धी कार्यक्रम सञ्चालन भयो। जीवन देवीको अध्यक्षतामा सञ्चालित उत्प्रेरणा कार्यक्रममा कम्पनीका शाखा प्रमुख अर्चना तण्डुकार, क्षेत्रीय प्रमुख रामप्रसाद भुसाल र नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मनोबल बढ्ने र समाजमा नेतृत्व गर्न सक्ने हुने भएकोले बीमाको माध्यमले सक्रिय हुन र आयआर्जन गर्न आग्रह गरे।