काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रदेश १ मा प्रदेश कार्यालय र थप ३ शाखा सञ्चालनमा आएको छ। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा तथा सञ्चालन समितिका सदस्य गणेश भट्टराईले प्रदेश नं. १ मा प्रदेश कार्यालयलगायत मोरङको सुन्दरहरैचा, झापाको राजगढ र शिवसताकक्षी शाखाहरुको संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन्। सोही अवसरमा प्रदेश नं. १ अन्तर्गतका सुनसरीको कालाबन्जर, तेह्रथुमको शुक्रबारे, धनकुटाको सिन्धुवा र झापाको शनिश्चरे शाखाहरुको स्थलगत निरीक्षण गरिएको थियो। 

उक्त समयमा कर्मचारीहरुसँग शाखाको वस्तुस्थिति, सवल पक्ष साथै समस्या र चुनौतीलाई अवसरमा बदल्न सकिने भावी योजनाका विषयहरुमा छलफल भएको थियो। यसका साथै ग्राहक सदस्यका परियोजना भ्रमण र कर्जाको सदुपयोगिताको बारेमा ग्राहक सदस्यहरुसँग अन्तर्क्रियासमेत गरिएको थियो। 

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शर्माले संस्थामा आवद्घ ग्राहक सदस्यलाई वित्तीय कारोबारहरु डिजिटल माध्यमको प्रयोग गरी उच्चतम लाभ लिन सकिने सुझाव दिए। उनले संस्थाको भावी रणनीति र योजनासमेत डिजिटल प्रविधिलाई आत्मसाथ गर्न रहेको सम्बन्धमा प्रकाश पारे।