काठमाण्डौ । देशैभर कोरोनाको प्रकोप तीव्र गतिमा फैलिइरहेको छ । घरबाट बाहिर निस्किनु निकै जोखिमपूर्ण छ, जहाँ जतिसुकै बेला पनि कोरोनाको संक्रमण भई ज्यानै नै जोखिममा पर्नसक्छ । तर, यही विषम परिस्थितिमा नेपालका उद्योगी व्यवसायीको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी छ । मंसिर ११ र १२ गते साधारणसभासहित निर्वाचनको कार्यक्रम समेत तय भइसकेको छ । यहीबेला भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा घमासान पर्ने देखिन्छ । 

नेपाल उद्योग वाणिज्य महासंघको हालको विधानअनुसार अध्यक्षका लागि निर्वाचन जितिरहनु पर्दैन । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

यसको अर्थ भावी अध्यक्षका बन्नका लागि घमासान चाहिँ वरिष्ठ उपाध्यक्षमा भइरहेको हो । आगामी कार्यकालको अध्यक्ष हालको वरिष्ठ उपाध्यक्ष हुनेछन् । उनीपछिको अध्यक्ष बन्नका लागि पहिला वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जित हासिल गर्नुपर्छ । वरिष्ठ उपाध्यक्षसहितका अन्य पदहरुमा समेत निर्वाचन हुन लागेको छ । 

यो पटक वरिष्ठ उपाध्यक्षको दौडमा महासंघमा निकै लामो समय काम गरेका किशोर प्रधान र देशका सफल उद्यमी व्यवसायी चन्द्र ढकाल रहेका छन् । उनीहरु नेतृत्वको टिमले आ–आफ्नो ढंगले चुनावी अभियान संचालन गरिरहेको छ । 

यो बेला चन्द्र ढकाल कोरोना संक्रमित भई आइसोलेसनमा रहेका छन् । तर, उनका प्रतिस्पर्धी किशोर प्रधान भने ६३ वर्षको उमेरमा समेत युवा झै सक्रिय हुँदै जिल्ला–जिल्लाको दौडमा छन् । 

कोरोना कहरकैबीच किशोर प्रधान नेतृत्वको टिमले प्रदेश ४ र ५ का जिल्लाहरुमा चुनावी अभियान तथा भेटघाटलाई सम्पन्न गरिसकेको छ । बुढ्यौलीले छोइसकेको उमेरमा पनि सक्रिय भएर जिल्ला–जिल्ला पुगेका किशोर प्रधान र उनको टिमका सदस्यहरु अहिले उत्साहित देखिएका छन् । किन त ?

किशोर प्रधानले पर्वतबाट टेलिफोन सम्पर्कमा बिजशालासँग भने –‘४ र ५ नम्बर प्रदेशका जिल्लाका साथीहरुको अभूतपूर्व साथ र समर्थन पाउने अवस्था बन्यो । अब हाम्रो जित पक्का भयो ।’ 

यी दुई प्रदेशका केही जिल्लाहरुलाई चन्द्र ढकाल समूहले आफ्नो पकड क्षेत्र मान्ने गरेको छ । प्रधान समूहले कोरोना कहरकै बीच चन्द्र ढकालको पकड भनिएका क्षेत्रमै गएर चुनावी अभियान संचालनको आक्रामक अभियान संचालन गरेको हो । 

प्रधान समूहले यसअघि अन्य प्रदेशको चुनावी अभियान लगभग सम्पन्न गरिसकेको छ । चुनावी जोडघटाउमा केही कमजोरजस्तो देखिएको ४ र ५ नम्बर प्रदेशका जिल्लाहरुबाट साथ र समर्थनको प्रतिबद्धता आएपछि प्रधान समूह उत्साहित भएको छ । 

किशोर प्रधान आफूले लामो समयदेखि उद्योग वाणिज्य महासंघको विभिन्न पदमा बसेर देशभरका उद्योगी व्यवसायीको पक्षमा काम गरेको, उद्योगी व्यवसायीको समस्या नजिकैबाट बुझेको दाबी गर्छन् । ‘३० वर्षभन्दा लामो समय मैले जुन संस्थामा बसेर अनवरत काम गरेँ, त्यही संगठनको नेतृत्वमा पुग्ने मेरो इच्छा अस्वभाविक हो र ?’ उनले बिजशालासँग भने–‘साथीहरुले पनि यही कुरा बुझिदिनुभएको छ ।’ 

उनले चुनाव जितेको खण्डमा आफूले पूर्ण रुपमा महासंघको काममा समय दिनसक्ने बताएका छन् । 'अनेकन उद्योग व्यवसाय भएका व्यक्तिले चुनाव जितेर उद्योगी व्यवसायीलाई समस्या पर्दा समय व्यवस्थापन गर्नै सक्दैन नि ।' उनले थपे-'उद्योगी व्यवसायीहरुले यो कुरा बुझ्नु भएको छ, यसैले पनि हामीलाई सुविधाजनक अवस्थामा पुर्याएको छ ।' 

किशोर प्रधान समूहलाई अबका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारका, हालकी अध्यक्ष भवानी राणा लगायतको समर्थन रहेको छ ।

अबका अध्यक्ष शेखर गोल्छा रहेकोले उनीसँग निकट टिमले नै जित्दा ट्यूनिङ मिल्ने र प्रभावकारी काम गर्न सकिने प्रधानको दाबी छ । 

प्रदेश ४ र ५ को भ्रमणबाट निकै उत्साहित देखिए पनि प्रधानका अगाडि चन्द्र ढकाल नेतृत्वको टिम समेत चुनौतिको पहाड बनेर खडा भएको छ ।

ढकाललाई जिल्ला नगरमा निकै राम्रो पकड राख्ने चण्डीराज ढकाल लगायतको साथ र समर्थन छ । जिल्ला नगरमा राम्रै प्रभाव राख्ने पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतको पनि ढकाललाई साथ र समर्थन रहेको छ । 

कोरोनाविरुद्धको लडाई जित्ने उच्च आत्मबलसहित जसरी ढकाल आइसोलेसनमा संघर्ष गरिरहेका छन्, अबको चुनाव जित्ने उनीभित्रको आत्मविश्वास पनि त्यत्तिकै बलियो देखिन्छ । 

जे होस्, उद्योग व्यवसाय क्षेत्रका दुवै प्रत्यासी भेटेरान व्यक्ति हुन् । यहीकारण पनि कोरोना कहरकै बीच यो वर्षको उद्योग वाणिज्य महासंघको चुनाव निकै रोमाञ्चक बन्ने देखिन्छ ।