काठमाण्डौ । कोरोना भाइरसका कारण मुलुकभित्र विशेष परिस्थिति उत्पन्न भएको कारण देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन तत्काल नगर्ने निर्णय गरेको छ । 

शुक्रबार महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षमा बसेको स्थायी समितिको बैठकले प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन केन्द्रीय महासंघको निर्वाचन भएको एक महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको हो । 

यो निर्णयसँगै हालका लागि प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन तत्काल हुने छैन । यसअघि प्रदेश स्तरबाट महासंघको केन्द्रीय महाधिवेशनअघि नै प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन हुनुपर्ने माग उठिरहेको थियो । 

महासंघले केन्द्रीय महाधिवेशन चैत अन्तिममा गर्ने यसअघि नै निर्णय गरेको छ । केन्द्रीय महासंघको निर्वाचन नै सर्नसक्ने आँकलनका बीच महासंघले सो विषयमा कुनै निर्णय नगरी प्रदेश उद्योग वाणिज्य महासंघको विषयमा भने निर्वाचन सार्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमै गम्भीर धक्का पुग्ने देखिएको र त्यसको असर नेपालमा समेत पर्न गएको र उद्योग व्यवसाय क्षेत्रमा असर देखिन थालेकाले उद्योगी व्यवसायीले बैंकहरूबाट लिएको ऋणको साँवाब्याज र सरकारलाई २०७६ चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समयावधि तीन महिना थप गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

यस्तै, कोरोना भाइरसका कारण सवैभन्दा बढी प्रभावित रहेको पर्यटन उद्योगलाई बाह्य देशहरूले सहुलियत प्याकेजको घोषणा गरिसकेका र नेपाल सरकारबाट पनि नेपाली पर्यटन उद्योगलाई थप क्षति हुनबाट बचाउन सहयोगका आकर्षक प्याकेज ल्याउन समेत महासंघले आग्रह गरेको छ । 

नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्म नदेखिएपनि नेपाल अत्यन्त जोखिमपूर्ण राष्ट्रको माथिल्लो सूचिमा रहेकाले यसबाट आउन सक्ने समस्यासंग जुध्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, रणनीति र स्वास्थ्य योजनामा महासंघले सरकारलाई सहयोग गर्ने र त्यसका लागि आफ्ना सबै संरचनालाई प्रभावकारी ढंगबाट परिचालन गर्दै स्थितिको समीक्षा गर्न आवश्यकतानुसार महासंघका पदाधिकारी समितिको बैठक बस्ने निर्णय समेत भएको जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा बिक्रीवितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह गर्ने निर्णय समेत गरेको छ।