काठमाण्डौ । सिटिन्जस बैंकले प्रदेश नम्बर २ स्थित जनकपुर केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंकलाई प्राप्ति गरी असार २० गतेदेखि एकीकृत कारोबार प्रारम्भ गरेको छ । 

सहयोगी विकास बैंकका प्राप्तिसँगै सिटिजन्स बैंकको प्रदेश नम्बर २ मा बलियो उपस्थिति भएको छ । धनुषा, महोत्तरीमा हाल ४ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको यस बैंकले अब उपरान्त प्रदेश नम्बर २ मा कुल १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु थप परिस्कृत रुपमा प्रदान गर्ने बताइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् । 

२०७७ आषाढ १९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु. ९१ अर्ब ३५ करोड रुपैयाँ र  सर्वसाधारणलाई  दिएको ऋण लगानी रु. ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ । 

हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । 

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा बताए । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने विश्वास भण्डारीको छ । 

त्यसैगरी, साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदयकान्त झा “जीवन” ले सहयोगी विकाश बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ सुरक्षित र उज्वल हुने आशा व्यक्त गरे । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे ।