काठमाण्डौ । कोरोनाभाइरसबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ।

आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशीबराबरको चेक हस्तान्तरण गरेका थिए। चेक हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवं सदस्यहरूलगायत ग्रुपको प्रदेश नम्बर १ मा कार्यरत कर्मचारीहरुको उपस्थिति थियो। 

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष ढकालले कोरोनाभाइरसबाट ज्यान गुमाउन बाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोषको मुख्य उद्देश्य रहेको बताए। कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ। प्रदेश नम्बर १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कुल ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशि हस्तान्तरण गरेका थिए। 

कोरोनाभाइरसका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो। कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश नम्बर २ को राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको छ। 

कोषबाट सहयोग राशि प्राप्त गर्नका लागि सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोरोनाका कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाण्डौमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मंसिर १५ गतेसम्म आवेदन दिन सक्ने गरी व्यवस्था मिलाइएको थियो।