काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टरअन्तर्गत गण्डकी प्रदेश विकास बैंक फोरमको सोमबार बसेको भेलाले मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीलाई संयोजकमा चयन गरेको छ। 

यसअघिका संयोजक तथा गरिमा विकास बैंक पोखरा क्लसटर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकोले रिक्त पदमा केसीलाई चयन गरेको हो। उक्त कार्यक्रममा गरिमा विकास वैंकका नयाँ क्लसटर प्रमुख भक्तबहादुर केसीलाई स्वागत गर्दै कार्यसमिति सदस्यमा चयन गर्नेसमेत निर्णय गरेको छ। 

संयोजक चयन भएपश्चातको कार्यक्रममा केसीेले सामूहिक रुपमा विकास बैंकका समस्या, अवसर र चुनौती तथा अन्य कार्यहरुमा डेभलपमेन्ट बैंकर्स एसोसियसनलाई सुझाव प्रदान गर्ने र गण्डकी प्रदेशमा उल्लेख्य रुपमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए। 

उक्त भेलाले निवर्तमान संयोजक भोला तिवारीले आफ्नो नेतृत्वमा फोरमलाई स्थापित गराउन पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापनसमेत गरेको छ। भेला विकास बैंक फोरमका कार्यवाहक संयोजक सुशील पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो।