काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न गरेको छ। 

कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ।  बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका थिए। 

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। 

सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीको उत्साहजनक उपस्थिति थियो। 

पहिलो चरण, बिजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ठ कार्यसम्पदान गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका अध्यक्ष अमात्य र प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सीईओ क्लव तथा चेयरम्यान क्लब दर्जाका अभिकर्ताहरुलाई सम्मान गरेका थिए। कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई  अमात्यले र सीईओ क्लबमा पर्न सफल अभिकर्ताहरुलाई प्रसाईले सम्मान तथा बिभिन्न पुरस्कारहरु प्रदान गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अमात्यले भने, ‘छोटो समयमा प्राप्त सफलताहरुले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्नेछ।’ 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रसाईले भने, ‘हामी सबैको अथक मेहनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८–७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्छ। दृढ संकल्प र मेहनतले नै यो उचाइमा पुग्न सफल भएका हौँ भने आगामी दिनमा यो उचाइको वृद्धिदरलाई कायम राख्ने दृढ विश्वाससमेत व्यक्त गर्छु।’