काठमाण्डौ। प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारणसभा चैत ३० गते बुधबार सम्पन्न भएको छ। 

तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा विद्युतीय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने करबापत ०.५८ प्रतिशत नगद लाभांश गरी जम्मा ११.५८ प्रतिशत लाभांश सभाबाट स्वीकृत भएको छ। 

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उतारचढाव २०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) र सो को नयाँ–नयाँ भेरियन्टको असर, त्यसपश्चात वित्तीय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने बिदेशी राष्ट्रहरुबीच भएको आपसी द्वन्द लगायतले बीमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको बताए। उनले सम्भावित बीमा जोखिमहरुको आँकलन तथा सोको संयमित र अनुकूलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शूत्र हो भन्नेमा कसैको दुई मत हुन नसक्ने जनाउँदै कम्पनीभित्रको सुशासन र सहभागितामूलक पारदर्शी निर्णय प्रकृयाहरुले सञ्चालक समिति र व्यवस्थापनबीचमा झन् प्रगाढता बढेको बताए। 

बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच पुँजी, दाबी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालीन लक्ष्य प्राप्तिका लागि समस्त कम्पनी परिवार प्रयत्नशील रहेको लामाले बताए। हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुको बजार, ग्राहक, लक्ष्य, उद्देश्य लगभग एकै किसिमका रहेकाले यस्तो अवस्थामा कम्पनीले प्रतिश्पर्धा गर्न ग्राहक केन्द्रित भएर आकर्षक बीमा सेवा प्रदान गर्दै अगाडि बढेको उल्लेख गर्दै उनले कम्पनीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थापन गर्दै कम्पनीले डिजिटल बीमा सेवामा विशेष जोड दिइएको बताए। 

सभामा विभिन्न सेयरधनीले आफ्नो मन्तव्य, जिज्ञासा र सुझाव राख्दै कम्पनीको प्रगति सन्तोषजनक रहेको र बीमा समितिबाट जारी भएको पूँजी वृद्धिसम्बन्धी निर्देशनबमोजिम कम्पनीको चुक्तापुँजी २ अर्व ५० करोड पुर्याउनका लागि हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्न विशेष प्रस्ताव पेस गरी पारित गरेको छ। सोहीअनुसार कम्पनीको पुँजी वृद्धिसम्बन्धी योजना तयार गरी बीमा समितिमा पेस गर्न सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ। 

बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापुँजी रु. १ अर्ब २८ करोड ९७ लाख ११ हजार पुगेको छ।