काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले आइतबार पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट र सामाजिक संस्था कर्म फ्लाइट्स फाउन्डेसनलाई थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ। 

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्य लिई पोखरामा एक कार्यक्रम गरी विद्यालय तथा फाउन्डेसनलाई सहयोग वितरण गरेको हो।

कार्यक्रमका अतिथि प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले प्रभु क्यापिटलको यो सानो सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने विश्वास रहेको बताए। 

यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा कम्पनीले यस्तो कार्यलाई निरन्तरता दिइने बताए। 

प्रभु क्यापिटलले वितरण गरेको १० वटा सीपीयूलाई कर्म फ्लाइट्स फाउन्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बागलुङ र ५ वटा गोरखाका विद्यालयमा वितरण गर्ने जानकारी कार्यक्रममा कर्म फ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए। 

यसैगरी क्यापिटलले सेयर सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै गत चैत २७ गते काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेटमा बीबीए र बीएसडब्ल्यू तहमा अध्ययनरत विद्यार्थीलाई आधारभूत सेयर तालिम प्रदान गरेको छ। कलेजले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा ८५ जना विद्यार्थीहरुको सहभागिता थियो। 

सोही दिन क्यापिटलले ग्वार्कोस्थित क्वेष्ट इन्टरनेसनल कलेजमा बीबीएमा अध्ययनरत विद्यार्थीका लागि १ दिने सेयर बजारसम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा बीबीएमा अध्ययनरत करिब ८३ जना विद्यार्थीको सहभागिता थियो।