– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारले नयाँ उचाइ चुमेको छ। कारोबारमा पनि उछाल आएको छ। बजारमा ६७ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। यसले बजार बुलिस रहेको बुझ्न सकिन्छ। 

बजार बुलिस नै रहे पनि अझै पनि कतिपय कम्पनीका सेयरमूल्य अन्डरभ्याल्यू नै छन्। विशेषगरी बैंक तथा वित्तीय सेक्टरमा सोचेजस्तो बढोत्तरी हुन सकेको छैन। यो साताबाट भने लगानीकर्ताहरु विकास बैंक तथा वाणिज्य बैंकका सेयरमा आकर्षित हुन थालेको देखिन्छ।

आगामी दिनमा पनि बजारमा सकारात्मक नै रहने देखिन्छ। किनकि देशमा निषेधाज्ञा यथावत छ। तत्काल जनजीवन सामान्य हुने अवस्था देखिँदैन। जसका कारण अन्य क्षेत्रबाट पनि लगानी सेयर बजारमै भित्रिने सम्भावना झनै बढेको छ। अवस्था यस्तै रहेमा बजार अझै माथि जाने जानकारहरुले बताउँदै आएका छन्। 

आज हामी नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये एउटा प्रभु बैंकलाई आधारभूत तथा प्राविधिक रुपमा विश्लेषण गर्न गइरहेका छौँ। 

आधारभूत पक्ष

नेपालमा २७ वटा वाणिज्य बैंक छन्। तीमध्ये प्रभु बैंक एउटा हो। यो बैंकको राजधानीमा ४० वटा र राजधानीबाहिर १७४ वटा शाखा छन्। बैंक तथा क्यापिटल, रेमिटेन्स फरेक्स तथा लकरलाई पनि आम्दानीको स्रोत बनाएको यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा २ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको थियो। 

सेयरपुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड रुपैयाँ र रिर्टन अन अर्निङमा २ अर्ब रहेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४.७९ रुपैयाँ र नेटवर्थ १५२.८६ रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा १.४८ प्रतिशत रहेको छ। 

बैंकको सीईओमा लामो अनुभव बोकेका अशोक शेरचन छन्।

बैंकमा सर्वसाधारणको ४९ प्रतिशत र संस्थापकको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ। प्रभु फाइनान्सबाट सुरु गरेर विभिन्न ६ वटा विकास बैंक र ३ वटा फाइनान्स मर्ज तथा एक्विजिसन गरेर प्रभु बैंक बनेको हो। ग्रान्ड तथा किष्टजस्ता कमजोर आर्थिक अवस्था भएका बैंकलाई समेटेर बनेको प्रभु एउटा सक्षम नेतृत्व भएको बैंक भनेर पनि सेयर बजारमा चर्चित छ। 

बैंकको पछिल्लो ३ वर्षको लाभांश दर झन्डै १२ प्रतिशतका दरले हुन आउँछ। बैंकले दुईपटक १ः४ र १ः२ प्रतिशतका दरले हकप्रद पनि निष्कासन गरिसकेको छ। 

प्राविधिक पक्षका आधार

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। फिवोनासी एक्सटेन्सन र इलिएट वेभलाई मिलाएर विश्लेषण गर्दा इन्टरमिडियट डिग्रीको  वेभ (३) फिवोनासीको १.६१ प्रतिशतको वृद्धिले ५६५ सम्म पुग्न सक्छ भने यो बुलमा इलिअट वेभकै वेभ (५) चलेमा  फिवोनासी एक्सटेन्सनको २.६१ प्रतिशतको वृद्धिले झन्डै ६५० रुपैयाँसम्म आउने बुलमा यो बैंकको मूल्य पुग्न सक्ने अनुमान लगाउन सकिन्छ। (तस्बिर माथि)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि यो बैंकको सेयरभाउ बढेमा ०.६१ प्रतिशतको प्रतिरोध ४७८ रुपैयाँसम्म, ०.७८ प्रतिशतको प्रतिरोध ४९४.८४ रुपैयाँसम्म, १ प्रतिशतको प्रतिरोध ५१४ रुपैयाँसम्म र १.६१ प्रतिशतको वृद्धि ५६५ रुपैयाँसम्म पुग्ने देखिन्छ। यदि आगामी दिनमा बजार घटेमा ०.७८ प्रतिशतको टेवा ४३५ रुपैयाँसम्म, १ प्रतिशतको  टेवा ४२३ रुपैयाँसम्म र १.६१ को टेवा ४०५ रुपैयाँसम्म आउने देखिन्छ। 

फिवोनासीको संकेत तल तस्बिरमा हेर्न सकिनेछ।

बोलिंगर ब्यान्डका आधारमा

यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो बैंकको बोलिंगर ब्यान्डले अप्पर ब्यान्डलाई छोएको छ र ब्यान्ड साँघुरिँदै गएकोले भविष्यमा सेयरमूल्यमा परिवर्तन हुन सक्छ। सेयरको अन्तिम ३ वटा कारोबारलाई नियाल्दा तल लामो धागोसहितको मैनबत्ती क्यान्डल बनेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।

एमएसीडी लाइनका आधारमा 

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत सिग्नल बुलिस देखिन्छ भने हिस्टोग्राम पनि पोजेटिभ नै देखिन्छन्।

आरएसआईका आधारमा

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई ५२.२८ रहेको छ। जसको अर्थ हुन्छ, न्युट्रल जोनमा छ। अघिल्लो पल्ट यो विन्दु ९१.४० को तहमा पुगेपछि करेक्सन आएको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यो बैंकको सेयरमा केही खरिदचाप आउने देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ४६७

प्रतिराध २– ४७४ 

प्रतिराध ३– ४९१

पिभट पेइन्ट–  ४५७

घटेमा सर्पोट 

सपोर्ट १– ४५०

सर्पोट २– ४४०

सर्पोट ३– ४२३

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एउटा औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस होइन।