काठमाण्डौ । प्रभु बैंक लिमिटेडको साढे २ लाख बढी कित्ता संस्थापक सेयर आज भदौ १५ गतेबाट लिलामीमा राखिएको छ। 

बैंकको कुल २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामी सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा १० अबंकको गुणांकमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या तथा कबोल गरेको प्रतिकित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ हात्तीसार स्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो भदौ २८ गते बैंकिङ समयसम्म पेस गर्नुपर्नेछ।