काठमाण्डौ । खराब संस्थाहरुलाई गाभेर अगाडि बढिरहेको प्रभू बैंकले आफ्ना प्रमुख वित्तीय सूचकमा लोभलाग्दो सुधार गर्न थालेको छ। 

यो बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि १९.४९ प्रतिशतको लाभांश क्षमता बनाएको छ । 

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म बैंकले १ अर्ब ७३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । 

बैंकले यो अवधिमा २ अर्ब ५ करोड खूद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा खुद मुनाफातर्फ बैंकले ११२ प्रतिशतको छलाङ मारेको छ । 

व्यवसाय बिस्तारमा आक्रामक बनेको बैंकले आफ्नो खूद ब्याज आम्दानीतर्फ पनि निकै राम्रो प्रगति गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २ अर्ब ८१ करोडमा सीमित थियो । 

अघिल्लो वर्ष १ अर्ब ७४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले २ अर्ब ८६ करोडको उचाई चुमाएको छ भने ३ अर्ब ४१ करोडमा सीमित रिजर्बको आकार बढाई ३ अर्ब ८७ करोडको बनाएको छ । 

बैंकले आफ्नो रिटेन अर्निङतर्फ १३२.०९ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ७७ करोड ३६ लाखमा सीमित यस्तो अर्निङ बढेर यो वर्ष १ अर्ब ७९ करोडको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ८६ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ । बैंकले निक्षेपतर्फ १५.५६ प्रतिशत र कर्जातर्फ १८.३९ प्रतिशतले प्रगति गरेको देखिएको छ । 

नाफामा बढोत्तरीसँगै बैंकको प्रतिसेयर आम्दानीतर्फ पनि छलाङ मारेको देखिन्छ । अघिल्लो वर्ष यही अवधिमा १२.५८ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष २४.१८ रुपैयाँको उचाईमा पुगेको हो । यो हिसाबले इपीएसतर्फ ९२.२० प्रतिशतको छलाङ मारेको देखिन्छ । 

बैंकले खराब कर्जालाई पनि घटाउँदै लगेको छ । अघिल्लो वर्ष ३.९८ प्रतिशतमा रहेको खराब कर्जाको अनुपातलाई घटाएर २.३१ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल देखिएको छ। 

बैंकको क्यापिटल एडेक्वेसी रेसियो ११.५८ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ६.१६ प्रतिशत, सीडी रेसियो ७४.२५ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई एकल विन्दू अर्थात ९.३६ प्रतिशतमा सीमित गर्ने सफलता पाएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६३.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११ गुणा कायम भएको छ ।