काठमाण्डौ । प्रभू लाइफ इन्स्योरेन्सले आगामी मंसिर २९ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । 

आइपीओमा छिटोमा पुस २ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । सो अवधिभित्र सबै आइपीओ बिक्री भएन भने ढिलोमा पुस १३ गतेसम्म आवेदन दिनसक्ने गरी मिति तोकिएको छ । 

कुल निश्कासन हुने ६० लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सो कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले चुक्तापूँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यस्तै, संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभू लाइफलाई इक्रा एनपी आईआर डबल बी प्लसको रेटिङ दिएको छ । यस्तो रेटिङ पाउने कम्पनीहरु मध्यम जोखिम खालका कम्पनी मानिन्छन् । यस्तै इक्राले प्रभू लाइफको आइपीओलाई ग्रेड फोरको रेटिंग प्रदान गरेको छ, जुन खासै राम्रो रेटिंग होइन । 

हाल यो कम्पनीको देशभर ९० शाखा रहेका छन् भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।